तसकारीका सामानले भरिन्छन दिल्ली–काठमाडौं बस

काठमाडौं, असोज ७।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सहज बनेको काठमाडौं–दिल्ली बस सेवा तस्करीका सामान ल्याउन प्रयोग हुने गरेको पुष्टि भएको छ । तस्कर समूहले यातायात सेवा सञ्चालनमा आएयता महँगा मोबाइल र लत्ताकपडा भारतबाट ल्याउने तथा नेपालबाट अन्य सामग्री लैजाने गरिरहे पनि हालै मात्र दुई घटना बाहिर आएका छन् ।
दिल्लीबाट काठमाडौं आएको बसमा मंगलबार लाखौं रुपैया बराबरको भन्सार छली गरेका लत्ताकपडा बरामद भएपछि काठमाडौं–दिल्ली बस सेवा तस्करी एक्सप्रेस बनेको खुलेको हो । अझ काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाका प्रहरी प्रमुखले नै माथिसम्मको सेटिङ भएकाले गाडी छोड्न आफू मातहतलाई आग्रह गरेको घटनाले तस्कर समूहको पहुँच र प्रभाव माथिसम्म रहेको स्पष्ट हुन्छ ।
नागढुंगामा जम्मा पाँच जना यात्रु बोकेर दिल्लीबाट आएको ना५ख १०२ नम्बरको बसका विभिन्न पाटपुर्जामा फल्स बटम बनाएर लाखौंका लत्ताकपडा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । भन्सार तिरेका तीन पोका कपडा छतमा राखेर ल्याइए पनि अन्य लाखौं मूल्य बराबरका सामग्री लुकाएर ल्याइएको भेटिएको हो ।
नागढुंगा प्रभागका सई देउबहादुर चन्दले बसमा लुकाउन सकिने सबै पार्टपुर्जामा फल्स बटम बनाएर अवैध लत्ताकपडा ल्याएको बताए । उनले गाडी चालकले पछिल्लो चार वर्षयता यसरी नै तस्करी भइरहेको प्रारम्भिक बयान दिएको बताएका छन् । उनले बस नियन्त्रणमा लिएपछि प्रभाग प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बस छाड्न बारम्बार आग्रह गरे पनि आफूले नछाडेको नेपाल लाइभलाई बताए ।
महाशाखाको टोलीले हाल चलनचल्तीमा रहेका लगभग सबै महँगा मोबाइल र काठमाडौंमा चलेका बुटिकमा राखिने लत्ताकपडासहित तीन जनालाई नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले यसरी बस मार्फत हुने तस्करीमा ठूलो गिरोहभन्दा पनि साना तस्कर सक्रिय हुने गरेको बताए । उनका अनुसार जीवकोपार्जनका लागि तस्करीमा संलग्न समूह र ठूलो तस्करका कामदार यस्तो काममा संलग्न छन् ।