तर्साएर सर्वसाधारणसँग रकम असुल्दै कास्कीका प्रहरी हबलदार

पोखरा, असोज ८ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी हबलदार विष्णुबहादुर थापा घर्तीले विभिन्न वहानामा व्यवसायी र सर्बसाधारणबाट रकम असुल्ने गरेका छन् । यसअघि रकम असुलेकै कारण कारबाहीमा परेका हबलदार घर्ती अहिले फेरि असुलीमा सक्रिय हुन थालेका हुन् । घर्ती घुमुवा प्रहरी हुन् ।
यसअघिका एसपी घनश्याम अर्यालको कारबाहीमा परेका हबलदार घर्ती अञ्चल प्रहरी कार्यालयमा थिए । एसपी अर्यालको सरुवालगत्तै सेटिङ मिलाएर जिल्लामै आएका उनले असुली थालेका हुन् । कहिले खानपिन त कहिले लुगा कपडा हुँदै पैसानै माग्ने गरेको एक व्यवसायीले गुनासो सुनाए । ‘पहिला पहिला पनि सामान र रकम माग्थे, अहिले त अतिनै भयो,’ नाम खोल्न नचाहाने ती व्यवसायीले भने, ‘उसको नाम लियो भने पछि मलाई केही गर्ने हो कि भन्ने डर लाग्छ ।’
विभिन्न वहानामा रकम माग्ने गरेको ती व्यवसायीले समाधानसँग बताए । ‘अब त अति भयो म जहाँ गएर पनि बोल्न तयार छु तर उसलाई कारबाही हुनपर्छ,’ उनले भने, ‘पहिला पनि कारबाही भएको मान्छे अहिले फेरी त्यही ठाँउमा आएर मोटो रकम माग्ने विभिन्न बहानामा दुख दिने गर्छ ।’ ती व्यवसायीले आफूलाई परेको समस्याको बारेमा समाधानसँग पोखेको गुनासो अडियो रेकर्ड समेत छ । तेल हाल्ने पैसा भनेर यसअघि ८÷१० हजार रुपैयाँ दिने गरेकोमा अहिले त दशैं खर्च भनेर ठूलै रकम मागेको ती व्यवसायीले बताए ।
हाल बढुवा भएर एसएसपी भएका तत्कालीन एसपी घनश्याम अर्यालले हबल्दार विष्णुको नियत खराब रहेको हुनाले पोहोर नै कारबाही गरिएको बताए । उनले फोन सम्पर्कमा समाधानसँग भने, ‘व्यवसायी र ठेकेदारलाई हैरान पारेपछि मैले कारबाही स्वरुप जिल्लामा तानें, अनि अञ्चल पु¥याइयो ।’ अहिले उसैको फेरि जिल्लामै सरुवा भएकोमा उनले आश्चर्य जनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले हबलदार घर्तीले रकम असुलेको गुनासो आए तुरुन्तै कारबाही गर्ने बताए । ‘पीडितबाट मकहाँ जानकारी भयो भने म तुरुन्तै कारबाही गर्छु,’ उनले भने ।
घर्तीले लेखनाथ क्षेत्रमा रहेका घाट, होटल र रेष्टुरेन्टमा रकम मागेर हैरान पारेको गुनासो आएपछि तत्कालीन एसपी घनश्याम अर्यालले कारवाही स्वरुप विष्णुबहादुरलाई सिसुवा प्रहरी चौकी लेखनाथबाट जिल्लामा तानेका थिए ।
घुमुवा प्रहरी घर्तीले व्यवसायी र ठेकेदारसँग रकम खाने गरेको गुनासो आउनसाथ एसपी अर्यालले घटना बुझ्न टोली खटाएका थिए । आरोप पुष्टी भएपछि अर्यालले उनलाई जिल्लामा तानेका हुन् । केही समय जिल्ला बसेका विष्णुको अञ्चल प्रहरी कार्यालय सरुवा भएको हो ।
पत्रकार अर्जुन गिरीले समाधान पत्रिकाका लागि लेखेका हुन् ।