तरुण दलका नगर सभापतिसहित ६ जना अत्याधुनिक पेस्तोलसहित नियन्त्रणमा

बाँके, कार्तिक १५ ।
बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई नियन्बत्रणमा लिएको हो ।

समातिनेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । उनका अनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

समातिनेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।