तयार भयो ४ नम्बर प्रदेश प्रमुखको कार्यालय (यस्तो छ सपथको तयारी)

पोखरा, माघ ६ ।
पोखरालाई चार नम्बर प्रदेशको अस्थाई केन्द्र तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेश प्रमुखको कार्यालयमा रुपान्तरण गरियो । प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर बिकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाई शुरु भएको छ । प्रदेश प्रमुखले सपथ लिएपछि पोखरामा प्रदेश संरचना मर्मत थालिएको छ । प्रदेश प्रमुख बस्ने अध्यागमन कार्यालय र प्रदेशसभाका लागि छुट्याईएको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रमा अहिले धमाधम मर्मत भैरहेको क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।
आईतबार विहान ११ बजे प्रदेश सांसदको सपथ खुवाउने कार्यक्रम छ । त्यो भन्दा पहिले प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नेछन् । अध्यागमन कार्यालयमा तयार भएको प्रदेश प्रमुख कार्यालयमा प्रमुख बाबुराम कुवँरले पदभार ग्रहण गरेपछि प्रदेशका जेष्ठ सांसदलाई सपथ खुवाउने कार्यक्रम छ । त्यसपछि जेष्ठ सांसदले अरु सांसदहरुलाई प्रदेशसभा कार्यालय नदिपुरमा ११ बजे सपथ ग्रहण गराउनेछन् ।