तयार भयो २०७६ सालको पात्रो, १२ अघि सर्यो दशैं

काठमाण्डौं, माघ ४ ।
पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि परेको छ ।

पात्रो अनुसार १८ गते फुलपाती, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ । आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ ।

आगामी वर्ष गौरा पर्व कहिले मनाउने भन्ने विषयमा विवाद देखिएको छ । तर समितिका अध्यक्ष प्राडा गौतमले विद्धानहरुले महिनौ अध्ययन गरेर निकालेको साइत नै मान्य हुने दाबी गरेका छन् । उनले भने–‘भदौ ६ गते गौरापर्व र कृष्णजन्माष्टमी हो, यसमा दुविधामा पर्नुपर्ने छैन ।’

आगामी वर्ष ३० दिन विवाहको साइत रहेका छन् । ब्रतबन्धको साइत १२ दिन रहेको छ । अधिकांश विवाह हुने महिनामा धेरै साइत रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिए । उनका अनुसार वृहस्पति र शुक्र नअस्ताएका कारण विवाहको अधिकांस महिनामा विवाहको साइत रहेको हो ।

गृह मन्त्रालयले विदाको सूचना जारी नगरेपनि निर्णायक समितिले माघ १७ गते पात्रो सार्वजनिक गर्ने गरी विभिन्न १३ संस्थालाई छपाई स्विकृति दिएको छ । ‘हामीले निर्णय गरेर गृह मन्त्रालयलाई पठाइसकेका छौ, मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ वर्षको क्यालेण्डर सार्वजनिक हुनेछन’–पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राडा गौतमले भने ।

समितिले आगामी वर्षका लागि १३ संस्थालाई पात्रो छाप्न स्विकृत दिइसकेको छ । समितिले सिद्धिलक्ष्मी, तोयानाथ, हिमाल, अठोला, तारकेश्वर, सुर्य, आकाश दर्शन, वगलामुखी, शुभ, वावा गोरखनाथ, किर्ति र सिद्धी संस्थालाई पात्रो छाप्न स्विकृत दिएको अध्यक्ष गौतमले जानकारी दिए ।