तमानखोलाका घाइतेलाई प्रदेश सरकारको सहयोग

पोखरा, साउन २२ ।

बागलुङको तमानखोला गाँउपालिकामा पहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारले राहत रकम हस्तान्तरण गरेको छ । यही साउन १९ गते राती अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर घम्भीर घाइते भएका ३ जनालाई उपचार खर्च वाफत प्रदेश सरकारले सहयोग रकम प्रदान गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु ४५ वर्षीय ओमबहादुर श्रीपाली, १६ वर्षीय अनिल श्रीपाली र ९ वर्षीय राम श्रीपालीलाई वुधवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राहत रकम हस्तान्तरण गरेका हुन ।

मन्त्री चुमानसहित मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द नेपाली, बागलुङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरु इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बूढा ,साबित्रा राना ,दीपा रोका सहितको टीमले अस्पतालमै पुगेर राहत रकम हस्तान्तरण गरेका थिए ।

प्रदेश सभा सदस्यहरुको विशेष पहलमा पहिलो चरणमा उपचार खर्च बाफत जनही २५ हजारका दरले सहयोग गरिएको हो । सहयोग रकम हस्तान्तर र घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्दै मन्त्री चुमान सहित प्रदेश सभा सदस्यहरुको टोलीले घाइतेको उपचार, विस्थापित परिवारको पुर्नस्थापना र मृतक परिवारलाई उचित राहतको व्यवस्थापनको लागि प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने बताएका थिए ।

साउन १९ गते रातको समयमा पहिरोमा पुरिएर तमानखोला गाउँपालिका ४ लाममेलामा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । गम्भीर घाइते ३ जनालाइ प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलले गृहमन्त्रालयसंग समन्वय गरेर सेनाको हेलिकप्टर मार्फत पोखरा ल्याएका थिए ।

अन्य घाइतेको गाँउमानै उपचार भइरहेको छ । विपन्न समुदायको बसोबास रहेको उक्त गाँउमा पहिरोले पाँच घर पुरेको छ ।