तनहूँमा ९० हजार किलोलिटरको तेल भण्डार बनाईने (यस्तो छ योजना)

पोखरा, बैशाख २३ ।
मन्त्रीपरिषद् बैठकले तनहूँको मार्किचोकमा पेट्रोलियम पदार्थको भण्डारण गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिका २ स्थित मार्किचोकको ४ सय रोपनी क्षेत्रफलमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउन लागिएको हो । मस्र्याङदी नदीको किनारमा ६० रोपनी सार्वजनिक जग्गा र ३ सय ४० रोपनी ब्यक्तिगत जग्गा अधिग्रहण गरी ९० हजार किलोलिटरको पेट्रोलियम भण्डारण केन्द्र बनाईने प्रदेश सरकारले जनाएको छ ।

यसअघि शुक्लागण्डकी ३ उदेनढुंगामा भण्डारण केन्द्र बनाउने भनिएपनि जग्गा खासै सुरक्षित नभएकोले मार्किचोक सारिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए । यो जग्गा प्राप्तीका लागि पनि संघ सरकारसँग आग्ह गरिएको छ ।

‘कम्तिमा ३ महिनाका लागि आवश्यक डिजेल पेट्रोल भण्डारण गर्न सक्ने ठाउँ चाहिन्छ । सरकारलाई जग्गाको सिफारिस आईसकेको छ, उनले भने–अव उपयुक्त ठाउँलाई छानेर आवश्यक प्रक्रिया अघि बढाइन्छ ।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकी बाणिज्य आपुर्ति महाशाखा प्रमुख उर्मिला काफ्लेको संयोजकत्वमा जग्गा छनौट समिति गठन भएको थियो । सरकारले पहिलो बजेट तथा कार्यक्रमबाट नै यो योजना अघि सारेको थियो । त्यसलाई निरन्तरता दिँदै चालू बर्षमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।