ढोरपाटन शिकार आरक्षमा पहिलो यामको सिकार सिजन सुरु

 

बाग्लुङ, कार्तिक ३ ।

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा पहिलो यामको सिकार सिजन सुरु भएको छ ।

हरेक वर्ष असोजदेखि मंसिरसम्म हुने पहिलो सिजनको शिकारयाम सुरु भएको हो ।

वर्षेनी दुई सिजनमा सिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो सिजनमा सात नाउर र पाँच झारलको शिकार गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गते १० नाउर र ६ झारलको शिकारको लक्ष्य राखेर सूचना आह्वान गरेको थियो । तर लक्ष्य अनुसार भने बोलपत्रको आवेदन परेन ।

यस वर्षको पहिलो सिजनका निम्ति सात नाउर र पाँच झारलका लागि मात्र आवेदन र्पयो । पहिलो सिजनमा नै कम माग आएपछि यस वर्ष कम शिकार हुने विभागले जनाएको छ ।

शिकार कम्पनी बीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि यसपालि राजश्व दर पनि घटेको वन्यजन्तु संरक्षण विभागका उप–सचिव विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

शिकार कम्पनीले एउटा नाउरको न्युनतम १ लाख ६५ हजार रुपैयाँदेखि अधिकतम १ लाख ८० हजार रुपैयाँसम्म तिरेका छन् भने झारलको न्युनतम ७७ हजारदेखि १ लाख ५ हजार रुपैयाँसम्म तिरेको उपसचिव श्रेष्ठले बताए ।(ईमेजखबरबाट साभार)