ढाका टोपी लगाएका यूवाहरुले प्रदेश प्रमुखलाई सोधेः लिपुलेक र कालापानीबारे सरकारको धारणा के हो ?

पोखरा, पुस १७ ।
सातौं अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा नेपाली टोपी लगाएर युवा हरुले लिपुलेक र कालापानी मुद्दा लाई पुन उठाएका छन् । पछिल्लो राजनितिक अवस्था, सरकार विस्तार लगायतका विषय हरुले स्थान लिदा भारतले मिचेको नेपालको भुमी लिपुलेक र कालापानीको मुद्दा सेलाएको अवस्थामा नेपाल टोपी प्रतिष्ठान गण्डकीले ढाका टोपी लगाएर प्रदेश सरकार समक्ष उठाएको हो ।

विभिन्न सरकारी दस्तावेज तथा जनगणना अनुसार उक्त भुमी नेपालको हो भनेर स्पष्ट छ। नेपाल(भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा विन्दु यकिन नहुनु नै हो । नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्या आएको हो ।

प्रतिष्ठान गण्डकीले प्रदेश प्रमुख अमिक शेरचनलाई नेपाली टोपी लगाएर लिपुलेक, लिम्पियाधुरा र कालापानीको भुभाग वारे जिज्ञासा राखेका थिए। जिज्ञासामा प्रदेश प्रमुखले सरकारको माथिल्लो स्तरवाटै उक्त भुमी वारे राष्ट्रिय मुद्दा बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

त्यस्तै एक कार्यक्रमका विच प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि वहादुर चुमान, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखवहादुर पुन, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका माननीय सांसदहरु र पोखरा महानगरका मेयर मान वहादुर जिसि लगायत लाई नेपाली टोपी लगाएको थियो।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवात संगै हवाई माध्यम वाट पोखरा भित्रीने अन्तराष्ट्रिय पर्यटकहरुलाई नेपाली ढाका टोपी लगाएर पोखरामा स्वागत गरेको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए । विगत ६ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । यो वर्ष ७ औं दिवस हो ।

नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तराष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचीव सचिन रानाभाट बताउँछन् ।

ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।

ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्रा हो ।