डेढ वर्षपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडान, रन वे, ट्याक्सी वे र एप्रोन तयार

पोखरा, कार्तिक २५ ।
पोखराबाटै अन्तर्रा्ष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ । २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ । एक वर्ष्भित्रमा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य टुग्याउने योजनासहित काम धामधम भइरहेको छ । बहुप्रतिक्षित दीर्घकालीन राष्ट्रिय योजनाका रुपमा रहेको क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको सन् २०२० डिसेम्बरभित्रमा (२०७७ मंसिरसम्म) सबै काम टुंग्याएर केही रयलपयल काम सकेर फ्लाइट अपरेसन सुरु गरिने विमानस्थल आयोजना प्रमुख विनेश मुनन्कर्मीले बताए ।

‘क्षेत्रीय विमानस्थल निर्माण कार्यको ५० प्रतिशत टुंग्याइसकिएको छ,’ आयोजना प्रमुख मुनंकर्मीले भने, ‘सिभिल कन्स्ट्रक्सनको काम पनि अब केही महिनाभित्रै टुंग्याउने छौं । त्यसपछि इक्विपमेन्ट खरिद गरेर इन्ट्सलेसन गरेर टुंग्याउने छौं ।’ अहिले १४ वटा भवनको भौतिक संरचनाको काम भइरहेको छ । उनले सन् २०२० को जनवरीमा फिनिसिङ गरिने उनले सुनाए । २५ सय मिटर लामो रन वे तयार भइसकेको छ । विमान पार्किङ स्थलसम्म आउने ट्याक्सी वे (बाटो)को काम टुंगिएको छ । विमान पार्किङका लागि एप्रोन पनि पूरा भइसकेको छ । आन्तरिक रुपमा रहेको पानी निकासका लागि नहरको व्यवस्थापन गरिएको छ । ‘१४ वटा भवनमा १२ वटा भवनको आरसिसी स्ट्रक्चर सकिएको छ,’ आयोजना प्रमुख मुनंकर्मीले सुनाए । आठवटा भवनको प्लास्टरको काम भइरहेको छ ।

एटिसीको कार्यालय भवन सम्पन्न भएको छ । आठ तलाको टावर निर्माणाधीन छ । पाँच तला ढलान गरिसकिएको छ । छैटौं तलाको ढलान तयार छ । टर्मिनल भवनको पनि आरसिसी स्ट्रक्चर सकिएको छ । स्टिलको जडानको कार्य भइरहेको छ । ‘अब ट्रस (छानो) हाल्ने काम बाँकी छ । त्यो पनि जनवरीभित्रमा टुंग्याउने छौं,’ उनको भनाइ थियो । ह्यांकर भवनको छाना छाउने काम बाँकी छ । डिसेम्बरभित्रमा सक्ने लक्ष्यमा रहेको उनले बताए । पृथ्वी राजमार्गको मुख्य प्रवेशद्वारबाट टर्मिनल भवनसम्मको एक किलोमिटर बाटोलाई चार लेनको ढलान गरिने काम अगाडि बढाइएको छ । ‘आरसिसीको कामपछि इलेक्ट्रिकल लाइटलगायत अन्य आवश्यक उपकरण खरिद गरेर इन्स्टल (जडान) गर्नुपर्ने छ,’ उनले भने, ‘यो आर्थिक वर्ष्भित्रमा ७५ प्रतिशत काम टुंग्याउने छौं ।’ आर्थिक वर्ष सकिन अझै नौ महिना बाँकी छ ।

विमानस्थललाई आवश्यक पर्ने सामान युरोपबाट खरिद गरिने उनले सुनाए । अर्को वर्ष आवश्यक उपकरण जडान गरी भ्याउने योजनासहित काम रफ्तारमा भइरहेको छ । नियमित कामका लागि अहिले पाँच सय कामदार खटिएका छन् । आधा नेपाली छन् भने आधा चिनियाँ कामदारले काम गरिरहेका छन् । केही पूर्वाधारका लागि अझै जग्गा अधिग्रहण गर्नुपर्ने खाँचो छ । ‘९३ रोपनीसहित साढे दुई सय रोपनी क्षेत्रफल अधिग्रहण गरिएपछि आवश्यकता अनुसार उपयोग र परिचालन गर्न सकिन्छ,’ उनको भनाइ थियो ।

निजी विमानस्थलका लागि आवश्यक पार्किङ एवं आयल निगमका लागि जग्गा माग गर्दै आएका छन् । तर तत्कालका लागि भइरहेकै जमिनलाई उपयोग गरेर फ्लाइट अपरेसन गर्ने योजनमा अघि बढिएको उनले जानकारी दिए । २०३२ मा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि तत्कालीन छिनेडाँडा गाविस (हाल पोखरा १४) कुहर फाँटमा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि दोस्रो चरणमा ६ सय २९ रोपनी जग्गासहित अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लम्बाइको धावनमार्ग बनाइएको छ । बोइङ सात सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने छ । अधिग्रहण गरिएको जग्गामा विमानस्थल निर्माण गर्न २०७३ वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भएसँगै निर्माण अगाडि बढाइएको हो । पोखरामा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउन करिब तीन वर्षअघि चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने सम्झौता छ । पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । सन् २०२५ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ लाख यात्रु हवाईमार्फत आवातजावत गर्ने प्रक्षेपण गरिएको छ । पत्रकार धन बस्नेतले नागरिकका लागि समाचार लेखेका हुन् ।