डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

पोखरा, चैत ३ ।
माघ २१ गतेदेखि लगाएको गण्डकी मेडिकल कलेजको ताला शनिबार खोलिएको छ । एमविविएस दोश्रो बर्षको परीक्षा नजिकिएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सहमति पछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन् । एमबिबिएस दोश्रो बर्षको परीक्षा चैत २१ देखि हुनेछ । परीक्षामा सहभागी हुन ७ दिनसम्म फाराम भर्ने म्याद छ ।

अहिलेको परीक्षा दिन नपाए उनीहरुको ‘इयर लस’ हुनेछ । सो ब्याचमा ५३ जना विद्यार्थीहरु अध्ययनरत छन् । अबैध रुपमा बढी शुल्क असुलेको भन्दै डेढ महिनाअघि विद्यार्थीले नै कलेज र अस्पतालको इमरजेन्सी बाहेक सबै कक्षमा तालाबन्दी गरिदिएका थिए । उच्च अदालत पोखराले सञ्चालकहरुलाई पक्राउ गर्न र अनुसन्धानमा बाटो खुला गरिदिएपछि सहमतिमै ताला खोलिएको विद्यार्थी अनित सिन्हाले जानकारी दिए ।

शुक्रबार दिउँसो नै ताला खोल्ने तयारी भएपनि कलेजको तर्फबाट जिम्मेवार ब्यक्ति उपस्थित नभएको भन्दै खोलिएको थिएन । विद्यार्थीको पूर्ण समर्थन पाएकोले कलेज ब्यवस्थापक उपस्थित नभएपनि ताला खोलेको सिन्हा बताउँछन् । ताला खुलेपछि अस्पतालको नियमित काम सुरु भैसकेको छ भने कलेज पनि आइतबारदेखि नियमित पठनपाठन हुने विद्यार्थीहरुले बताए । तर कलेजका सञ्चालकहरु चाहीँ सम्पर्कमा छैनन् । ५३ करोड रुपैयाँ ठगी गरेको आरोपमा विद्यार्थीले ११ जना सञ्चालक विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धीकरण विभागमा फागुन २१ गते उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा कास्की प्रहरीले अदालतसँगको अनुमतिमा अध्यक्ष खुमा अर्याल सहित ११ सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिन कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् । एमविविएस दोश्रो बर्षको परीक्षालाई मध्यनजरमा राखेर ताला खोल्ने निर्णय गरेको विद्यार्थी रवीना मिश्रले जानकारी दिनुभयो । गत बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयमा आदेश पठाएको छ ।