डा. केसीलाई निशर्त वार्तामा आउन सरकारको आह्वान

काठमाण्डौं, साउन ५ ।
सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई निशर्त वार्तामा आउन आह्वान गरेको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव खगराज बरालले बताएका हुन् ।

बरालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारी वार्ता टोली डा. केसीका माग वार्तामार्फत नै सम्बोधन गर्न सकिने कुरामा विश्वस्त छ र डा. केसी पक्षलाई निशर्त वार्तामा आउन आह्वान गर्दछ ।’ यसैबीच डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहित सरकारी टोली आउनु पर्ने बताएका छन् ।

डा केसीका तर्फबाट निशर्त वार्ताका टोली बनेर केही चरण वार्ता भएको तर, सरकारद्वारा गठित टोलीसँग आवश्यक म्यान्डेट नभएकाले समस्या भएको उसले बताएको छ । डा. केसीको वार्ता टोलीका सदस्य डा जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै जुम्ला घटनापछि डा केसीले स्वास्थ्य अवस्था बुझ्न गरिने सामान्य जाँचहरु गर्न इन्कार गरेको बताएका छन् ।

यसले निरन्तर बिग्रिरहेको डा केसीको स्वास्थ्य कति गम्भीर छ भन्ने जानकारी पाउन समेत असम्भव भएको छ र कुनै पनि बेला गम्भीर जटिलता आउने सम्भावना बढेको छ, उनले भनेका छन् ।–अनलाईन खवर