ठेकेदारको ठगी–अलपत्र काम, सरकार मौन

पोखरा, असोज २४ ।
पिच गर्नुपर्ने ४ सय मिटर सडक अधकल्चो छाडेर ठेकेदार हिँडेपछि पोखरा फूलबारीका वासिन्दा सडक डिभिजन कार्यालयमा धर्नामा छन् । ४ महिना अघिदेखि थालेको ४ सय मिटर सडक बनाइदेऊ भन्दै पोखरा फूलबारीका महाबीर थापा र वासु भट्टराईलगायत सडक डिभिजन कार्यालय धाउन थालेकै ३ महिना पुग्यो ।फूलबारी ब्यारेक ४ नम्बर गेटबाट नारायणस्थान जाने बाटो कालोपत्रे गर्न ४ महिना अगाडिदेखि सुरु गरिएको थियो । कालोपत्रे बिछ्याउने सुरसारै नभएकोमा स्थानीय चिन्तित छन् ।
ठेकेदार र सडक डिभिजिन कार्यालय दुबैले वेवस्ता गर्दा स्थानीय हैरानीमा परेका हुन् । सडक पिच गर्न सडक डिभिजन कार्यालयले डिबिडी बिल्डर्सलाई ३८ लाख रुपैयाँमा वैशाखमा ठेक्का दिएको थियो ।
गत वर्षको चैतमै सक्नुपर्ने न्युरोड सर्फेस ड्रेसिङको काम ठेकेदार कम्पनीले भदौ अन्त्यतिरमात्रै थाल्यो । पोखरा महानगरपालिकासँग ठेक्का पाएको विराट एन्ड विशाल सिमरन जेभी कम्पनीले समयमै काम गर्न नसकेर बर्खायाममा काम थालेको थियो । बर्खायाममा न्युरोडको सडकमा ‘सर्फेस ड्रेसिङ’ गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्न लागेको आलोचना भएपछि महानगरले काम रोक्यो ।
दशैंसम्मभित्र सबै काम सक्नुपर्ने महानगरसँग सम्झौता थप गरेको कम्पनीले तिहार आउन लागिसक्दा पनि काम थाल्ने सुरुसारै छैन । महानगरपालिकाले १९ हजार ३ सय २० वर्ग्मिटर सडकको काम गर्न ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
मादी गाउँपालिकास्थित घुम्लेबजार र मिजुरे भाचोक जोड्ने मादी नदीमा पुल निर्माण अलपत्र छ । लोकप्रिय–शंकरमाली जेभीले पुल निर्माणको ठेक्का लिएको चार वर्ष बितिसक्यो । तर त्यो पुलको काम सुरु नै हुन सकेको छ ।
एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ५ करोड रुपैयाँमा २०७० मा सम्झौता भए पनि अहिलेसम्म काम नै नभएपछि सडक डिभिजन कार्यालय, पोखराले ताकेता गरिरहेको छ । दुई ठेकेदार कम्पनीले यो पुल निर्माणको ठेक्का लिएका थिए । दुई कम्पनीमध्ये लोकप्रिय नामको कम्पनी पाल्पाको सडक निर्माणलाई लिएर कालोसूचीमा परेको छ ।
जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको ४ लेन सडक निर्माण गर्न ठेक्का पाएको कम्पनीले बदमासी गरिदिएपछि अर्को ठेकेदार कम्पनीमार्फत काम गर्नुर्पयो । ठेक्का प्रक्रियामा एउटाको कागजात देखाएर अर्कै ठेकेदार खडा गरेर बदमासी गरेको खुलेको थियो । एउटा कागजात देखाएर अर्कोले ठेक्कापट्टा लिने अधिकांश सडक निर्माणमा हुने गरेको छ ।
२०७१ मा सुरु गरेरवर्ष्दिनमै काम सक्नुपर्ने काम ठेकेदार नगरिदिएपछि अर्कै ठेकेदारमार्फत २०७४ मा मात्रै जिरो किलोमिटर विन्ध्यवासिनी सडक निर्माण सकिएको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत पावर हाउसदेखि गगनगौडासम्मको सडक निर्माण असार मसान्तभित्रैसकिनुपर्ने थियो । एक वर्षका लागि सम्झौता भएको सडक निर्माण दशैं सकिँदा पनि सम्पन्न हुन सकेको छैन । जम्मा १ किलोमिटर लम्बाइ र १४ मिटर चौडा भएको सडक निर्माण गर्न कालोपत्रे मेसिन नभएकाले ढिला भएको ठेकेदार कम्पनी बताउँछ । आफूसँग निर्माण उपकरण नभएकै कारण देखाउँदै धेरैजसो ठेकेदारले निर्माणमा मनोमानी गर्ने गरेका छन् ।
यी त उदाहरणमात्रै हुन् । ठेकेदार कम्पनीको मनोमानीका कारण निर्माण अलपत्र परेका र समयमै काम नसकिएका कास्कीमा मात्रै १० औं उदाहरण छन् । सडक डिभिजन कार्यालय पोखरा कास्कीले सुरु गरेका कास्की र स्याङजाका लगभग १ दर्जनभन्दा बढी योजना अलपत्र परेका छन् ।
केही योजनाको काम नै सुरु भएको छैन । साविकको जिल्ला विकास समिति, पोखरा महानगरपालिकाले सुरु गरेका थुप्रै योजनाहरुमा ठेकेदारको मानोमानीले कति समयमै सकिएको छैन भने कति अलपत्रै छन् ।
लोकतन्त्रलाई मनपरी तन्त्र बनाउने काम बढी ठेकेदारले गरेको सडक डिभिजन कार्यालय पोखरा इन्जिनियर विष्णु पाण्डे बताउँछन् । ‘विशेष परिस्थितिवाहेक पनि हेलचेक्य्राइँ गर्ने, अटेरी गर्ने बढी ठेकेदार छन्,’ इन्जिनियर पाण्डेले भने, ‘बजेट ढिला निकासा हुने र हाम्रो राज्य प्रणालीले पनि समयै निर्माण नसकिएका हुन् ।’
असार मसान्तभित्र सक्नुपर्ने भलामखोला पुल निर्माण सुरु नै नभएको प्रमुख जिल्ला इन्जिनियर नारायण प्रसाद बरालले जानकारी दिए । लेखनाथको खास्टे खोला पुल पनि सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण सुरु नै भएको छ । ‘कतिपय प्राविधिक समस्याले समयमै काम सकिदैनन् भने धेरैजसो ठेकेदारले काम नै नगरेर ढिला हुन्छन् ।’
काम नै नबुझिकन ठेक्का लिने ठेकदारका कारण पुल तथा सडक निर्माण र समग्र विकास निर्माणलाई प्रभाव पारेको उनी बताउँछन् । पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले महानगरका धेरैजसो निर्माण उपभोक्तको सहभागितामा हुने र १–२ वटा ठूला योजनामात्रै ठेकेदार कम्पनीसँग सम्झौता भएको बताउँछन् ।
न्युरोडमा सर्फेस ड्रेसिङको काम दशैं अगाडि सक्ने भनिए पनि पानी र चाडबाडले पछि सरेको बताए । ‘पानी पर्दा काम र्गयो आलेटाले गरेर इन्जिनियर पैसा खान लाग्यो भन्छन्, काम गरेन इन्जिनियरले गरेन भन्छन्,’ काफ्लेले भने ।
समाधान पत्रिकाका लागि पत्रकार अमृत सुवेदीले लेखेका हुन् ।