ठूलाथरमा बडा दशैं मेला हुने, पोखराबाट कार्यक्रम सार्वजनिक

 

पोखरा, भदौ १६ ।

बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरमा नेपालीहरूको महान् चाड बडा दशैंका अवसरमा “बडा दशैं मेला–२०७६” हुने भएको छ । सो मेलाको आइतबार पोखराबाट कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यहाँस्थित संगम युवा क्लबको ३७ औं वार्षिकोत्सवसँगै सो मेला आगामी असोज २२ गतेदेखि २६ गतेसम्म ठूलाथरमा अवस्थित संगम खेल मैदानमा हुने क्लबका अध्यक्ष राजबहादुर पुनले जानकारी दिए ।

“पर्यटन प्रवद्र्धनमा खेलकुद, कला र संस्कृतिको पहिचान, गलकोटको गौरव बहुउद्देश्यीय कभर्डहल निर्माण हाम्रो अभियान” मूल नाराका साथ आयोजना हुन लागेको मेलामा गलकोट नगरभित्रका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भेट्रान्स भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता एवं खुल्ला मौलिक लोकसांस्कृतिक नृत्य प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष पुनले बताए । अध्यक्ष पुनका अनुसार मेलामा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रत्यक्ष दोहोरी गीत प्रस्तुती समेत रहनेछ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने सो मेलामा स्थानीय मौलिक लोकसंस्कृतिहरू समेत प्रस्तुत गरिने संस्कृति संरक्षण मञ्च, ठूलाथरका अध्यक्ष तारा श्रीसले जानकारी दिए ।

गलकोट नगरपालिकाकै गौरवको योजनाका रुपमा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने र त्यसका लागि तिनै तहका सरकारहरूलाई सहयोगका लागि आग्रह गर्ने क्लबका कोषाध्यक्ष गणेश चालिसेले बताए । कोषाध्यक्ष चालिसेका अनुसार मेलाबाट प्राप्त आम्दानीबाट बहुउद्देश्यीय कभर्डहलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी बजेटका लागि पहल गर्ने योजना रहेको छ ।

ठूलाथरलाई खेलकुद तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित मेलामा नजिकै रहेका स्थानीय होम स्टेहरूको अवलोकन, गाईघाट झरना, गलकोट दरबार, गुरुङकोट देउराली, मोतीमारे बराह मन्दिर, कालिलेकको धुरी, दरमखोलाको असला माछाका परिकारलगायतका आकर्षण समेत रहेका छन् । मेला सम्पन्न गर्न झण्डै १५ लाख ७० हजार खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष पुनले जानकारी दिए ।