ठडिदैंछन् लाप्राकीका नयाँ घर

गोरखा, असोज १० ।
महाबिनासकारी भूकम्पबाट लाप्राकीको उठीबास लागेको झण्डै ३० महिना पुग्न लाग्यो । घरगोठै गुमाएपछि अस्थायी टहरामा बस्दै आएका लाप्राकीको नयाँ घर बनिरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा नमूना बस्ती निर्माण धमाधम भइरहेको छ ।
डेढ सयमध्ये हालसम्म एक सय आठ वटा घरको झ्यालसम्मको तहमा गारो लगाइसकिएको छ । एनआरएनएका प्रतिनिधि कृष्णराज भण्डारीका अनुसार १३ वटाको ‘लेन्टिल लेवल’ सकिएर लगभग घर तयार भएको छ । दुई वटा नमूना घर तयार भइसकेका छन् ।
दशैंसम्ममा सबै घर तयार पार्नेगरी काम थालेको थियो, एनआरएनले । तर, मौसमको अवरोध र कामदार अभावलगायत कारणबाट लक्ष्य भेट्न समस्या भएको भण्डारीले जानकारी दिए । उनले भने, ‘निर्माण सामग्री समयमा नआउँदा पनि ढिलाइ भयो ।’
विश्व सम्मेलन नजिकिँदै गर्दा छिटो काम सक्ने दबाबमा छ, एनआरएनए । अध्यक्ष शेष घलेकै कार्यकालमा नमूना बस्ती हस्तान्तरण गरिसक्ने योजना छ ।
‘उहाँको कार्यकालसम्म जति घर बन्छन्, त्यति नै स्थानीय बासिन्दालाई हस्तान्तरण गर्छाैं,’ भण्डारीले भने । हस्तान्तरणका लागि गोलाप्रथा गर्ने÷नगर्ने यकिन भइनसकेको उनले बताए । उनका अनुसार गोलाप्रथा गर्ने कि पहिले ढुंगा, गिटी जसले ल्याएको छ, उसैलाई प्राथमिकता दिने भन्नेबारे छलफल भइरहेको छ ।
नमूना बस्तीका लागि स्थानीय बासिन्दाको भागमा गिटी र ढुंगा परेका थिए । काठ भने एनआरएनएले उपलब्ध गराएको छ । प्रतिघरधुरी १२ लाख खर्च गर्दै पाँच सय ७३ वटा घर निर्माणको योजना छ ।