ट्युसन पढ्न विद्यालयमा जाँदै गरेका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु

पाल्पा, भदौ ११ ।
पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेकी छन् ।

रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी ट्यूशन पढ्न विद्यालय जाँदै गरेकी थिइन् । पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार विहान ८ बजे ट्यूशन पढ्न जाँदै गरेकी उनी विद्यालय नजिकै पुग्दा बेहोस भएकी थिइन् । उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन् । बेहोस भएका मध्य तीनजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास र दुइजनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ ।

अन्य दुइजनाको भने ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । बेहोस भएका सातजनाको अवस्था सामान्य रहेको उनको भनाई छ । विद्यार्थी के कारणले बेहोस भन्नेबारे अहिलेसम्म खुलेको छैन ।