ट्याक्सी र स्कुटरमा ठोकिएर मोटरसाईकल चालक घाईते

पोखरा, बैशाख ११ ।
लाईसेन्स नभएको युवक चलाएको मोटरसाईकल ठोकिँदा चालक घाईते भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आइरहेको ग ४ प ७४२५ नम्बरको स्कुटर चालक विवेक कडेलले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए ।

ट्याक्सी चालकले रोक्न खोज्दा खोज्दै झनै स्पीड बढाएर भागेका विवेकले रोजिना अफसेट प्रेसतर्फ मोडिन लागेको ग १० प ४८६३ नम्बरको स्प्लेन्डर बाइकलाई ठक्कर दिएको थियो । बाइकका चालक रोशन श्रेष्ठको गोडामा चोट लागेको छ । स्कुटरमा क्षति पूगेको छ भने ट्याक्सी समेत कुच्चिएको प्रत्यक्षदर्शी राजन श्रेष्ठले बताए ।

घटना लगत्तै प्रहरी सहायक निरीक्षक काजीमान खत्री लगायतको टोली पुगेर दुर्घटनामा संलग्न सवारीलाई नियन्त्रणमा लिएको थियो । विवेकको लाइसेन्स नभएको खुलेको छ । सोहि कारण उनी भाग्दा अर्कोलाई ठक्कर दिन पुगेको उनले स्विकारेका छन् ।