टुडिखेल तीज मेलामा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता हुने

 

पोखरा, भदौ ५ ।

महिलाहरुको महान चाड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना र इन्द्रेणी एकिकृत विकास केन्द्रको सह—आयोजनामा टुडिखेलमा हुने तीज मेलामा छेलो प्रतियोगिता हुने भएको छ ।

भदौ १४ गते हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ११ हजार प्रदान गरिने आयोजकले जानकारी गराएको छ । यस्तै, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद ६ हजार र ३ हजार प्रदान गरिने मुल आयोजक समितिकी संयोजक शोभा गौतमले बताइन् ।

“पछिल्लो समय छेलो प्रतियोगिता कम हुँदै गएको छ ।”— भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले भने, छेलो खेलको संरक्षणका लागि भएपनि प्रतियोगिताको आवश्यक्ता छ ।” केही समय अगाडी नेपालमा छेलो प्रतियोगिता अत्याधिक हुने गरेको गुरुङको भनाई थियो । तर अहिले उक्त खेल विस्तारै लोपन्मुख भएको उनले बताए ।

खेलले आपसी भाइचाराको सम्बन्ध बढाउने प्रतियोगिताका संयोजक खेम बहादुर गुरुङले बताए । नेपालीहरुको मौलिक चाड तीजको अवसरमा उक्त प्रतियोगिताले मेला अवलोकन गर्न आउनेलाई उत्साह मिल्ने उनको भनाई थियो ।

खेलकुद विभाग प्रमुख गेहेन्द्रमान श्रेष्ठले मौलिक खेलहरुको विकासका लागि खेलाडीहरु उत्पादन गरिनुपर्नेमा जोड दिए । छेलो खेलको पनि आवश्यक तालिम र सिकाई आधारमा निरन्तर प्रतियोगिताको आवश्यक्ता रहेको उनले बताए ।

तीज मेला भदौ ११ देखि १७ गतेसम्म हुनेछ ।