झापा जाँदै गरेको जीप धनुषामा पल्टियो, ६ जनाको मृत्यु

काठमाण्डौं, माघ १३ ।
काठमाडौंबाट यात्रु बोकेर झापा जाँदै गरेको जीप शनिबार बिहान धनुषामा पल्टिँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै शनिबार बिहान साढे २ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाले दुर्घटनाको पुष्टि गर्दै ६ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपानेको ज्यान गएको छ ।
त्यसैगरी, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको पनि दुर्घटनामा परी मृत्यु छ । ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने अन्य ३ जना साधारण उपचारपछि घर फर्केका छन् । गम्भीर घाइते १ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।