झक्कड थापा–जसले धेरैलाई हँसाए, आफू पटक पटक रोए ! (मर्मस्पर्शी कहानी)

काठमाण्डौं, भदौ २७ ।
‘मेरो घर र अडिशनको दूरी सात किलोमिटर मात्रै थियो,’ डेढ वर्षअघिको अडिशन स्मरण गर्दै झक्कड थापाले भने, ‘फागुन महिना, नेपालगञ्जको गर्मीमा साइकल चढेरै सात किलोमिटर हिडें। दैलेखी भाकामा स्वर आउँछ, त्यही गाउनुपर्ला भन्ने सोचेको थिएँ ।’

बाल्यकालदेखि झण्डै डेढ दशक भारतका विभिन्न ठाउँमा मजदुरी गरेर जोडेको नेपालगञ्जस्थित एक कठ्ठा ऐलानी जग्गामा बनाएको सानो दुईकोठे घरमा अधबैंशे झक्कड थापा रेडियो सुनिरहेका थिए । रेडियोले फुक्यो, ‘तपाईंसँग प्रतिभा छ भने तपाईंका लागि सुवर्ण अवसर छ, नेपाल आइडलको नेपालगञ्ज अडिशन भोलि हुँदैछ ।’

एक राष्ट्रिय टेलिभिजनले देशभरि गिती ‘रियालिटी’ कार्यक्रम ‘नेपाल आइडल’ आयोजना गर्दै थियो । अन्तराष्ट्रिय फ्रेन्चाइजी उक्त कार्यक्रमको अडिसन २०७३ फाल्गुनमा नेपालगञ्जमा थियो । दैलेखबाट नेपालगञ्ज झरेका झक्कड सानो हुँदा गाउँमा खुब देउसी भैलो खेल्थे । आफै भट्याउँथे । मादल ठोक्थे । तिरिरि मुरुली बजाउँथे । भारतमा नंग्रा तिखार्दा तिखार्दै खिइएका उनलाई लाग्यो–घर नजिकै अवसर आएको छ । म पनि आफूसँग भएको प्रतिभा देखाउँछु । केही अवसर पो मिलिहाल्छ कि ।

‘मेरो घर र अडिसनको दूरी सात किलोमिटर थियो,’ डेढ वर्षअघिको अडिशन, जसले झक्कडलाई धेरैसँग परिचित गरायो, त्यसदिनको स्मरण गर्दै उनले भने, ‘फाल्गुनको महिना, नेपालगञ्जको गर्मीमा पनि साइकल चढेरै सात किलोमिटर हिंडे । दैलेखी भाकामा स्वर आउँछ त्यो गाउनुपर्ला भन्ने सोचेको थिएँ ।’

अडिसनस्थलको माहौल पूरै संगीतमय थियो । सबैजना गुनगुनाइरहेका थिए । सबै अभ्यासमा व्यस्त थिए । आ–आफ्नो पालो पर्खिएरहेका थिए । त्यही भिडमा मिसिए झक्कड । र, गाउन थाले दैलेखी भाका । राति १ बजे पालो आयो । उनले ‘धासु’ इन्ट्रि मारे । ‘उध्रेको चोलीको खुकुलो तुना छ…’ बोलको गीतसँगै हात हल्लाएर निर्णायक (जर्ज) हरु सामु झक्कड झुल्किए । जानीनजानी दुबै हात हल्लाएर नाच्दै गाउनु पछि उनको ‘ट्रेडमार्क’ नै बन्यो । उनको इन्ट्रिमा नै टेलिभिजन हेरिरहेका धेरैको खित्का छुटिसकेको थियो ।

सयौंको आवाज परख्दापरख्दै थाकेका जजहरु पनि उनको इन्ट्रिबाट मनोरञ्जित देखिए । नाम सोधे । ‘झक्कड थापा’, हँसिलो मुहारका साथ जवाफ फर्कियो । जर्जहरुले पनि त्यो नाम पहिलोपटक सुनेछन् । अनौठो लाग्यो क्यार । गलल्ल हाँसे । जजमध्येकी एक इन्दिरा जोशीले सोधि हालिन्, ‘अनि झक्कड भनेको के नि ?’

‘अब नाम नै यस्तै हो’, झक्कडले आफ्नो नामबारेको अनविज्ञता प्रकट गरे । इन्दिरा अझै शान्त भइनन् । उनले झक्कडको अर्थ खोतल्न खोजिन । ‘अब नामै त्यही हो, के अर्थ हुनु,’ निर्दोष पारामा झक्कडको जवाफ आयो ।

सवाल–जवाफ टुंग्गिएको थिएन् । झक्कडले ‘म दैलेखी भाका गाउने हो’ भन्दै लय हाले, ‘फुल फलि गाउँ घर भरि, डगमगाया… होला, भाई प्रदेश हाई… बैनी घरै यो मन कति.. रो’ला… कार्तिक मैना…’

झक्कडको सुरताल केही जमेको थिएन । तर अडिसन लिँदालिँदै थाकेका जर्जहरुले भने उनको रमाइलो प्रस्तुतीबाट मनोरञ्जन लिइरहेका थिए । जर्जहरुले अर्को गीत गाउन लगाए–झक्कडले दोहोरी गाए, लोकगीत गाए, आधुनिक गाए, फिल्मी गाए । जर्ज हाँसिरहे, उनी गीत जोड्दै गए । अन्त्यमा इन्दिराले ‘तपाईं एकदमै रमाइलो मान्छे । निर्दोष मन भएको मान्छे । जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । अर्को पटक राम्रो तयारी गरेर आउनुहोला । यसपटकलाई धन्यवाद’ भन्दै झक्कडलाई बिदा गरिन् ।

नेपालगञ्ज अडिसनको यो अनुभवसँगै भारतमा लामो समय बिताएका झक्कडको नेपालमै केही काम पाइएला कि भन्ने एउटा आशा टुट्यो । आइडल टिमलाई झक्कडबाट मनोरञ्जन लिन अझै पुगेको थिएन । बाहिर उद्घोषक सुशील नेपालले पनि उनलाई गीत गाउन लगाए, ‘हातमा डबल झुम्का, कानमा डबल झुम्का’ भन्दै उनले आफ्नो ट्रेडमार्र्क देखाउँदै दर्शकलाई मनोरञ्जित तुल्याए ।

अडिसन कार्यक्रम टेलिभिजनमा देखाइएपछि झक्कडको प्रस्तुती एकाएक हिट भयो । यूटुबमा उनी ‘ट्रेन्डिङ’ मा छाए । हिजोसम्म कसैले नचिनेका झक्कड तीब्र रुपमा भाइरल भइरहेका थिए । उनको प्रस्तुतीलाई मन पराउने भन्दा पनि रमाइलो मान्दै सेयर गर्नेहरुको संख्या अत्याधिक थियो ।

‘बोरिङ’ अनुभव गरिरहेका मान्छेले हेर्दा पनि मिठो मुस्कानका साथ ताजगी मिल्नु उनको प्रस्तुतीको विशेषता थियो । ‘ठाँडी भाका म राम्रै गाउँन सक्थें,’ नेपालमै केही काम गर्ने सपना टुटेको त्यो दिन सम्झँदै झक्कडले भने, ‘मान्छेले एक लाइन समात्दा उसलाई त्यसमा अघि बढ्न सजिलो हुन्छ । धेरै सपनाहरु बोकेपछि कुनैपनि पूरा नहुन सक्छन्। मैले पनि सबै भाका गाउँन खोज्दा मिलेन जस्तो लाग्यो ।’

अडिशनमा छनोट नभएपछि ‘खुब नेपाल आइडलमा गएर के के गर्छु भन्थिस, खाइस’ भन्ने प्रतिक्रिया उनले परिवार र छरछिमेकबाट सुन्नु पर्यो । उनलाई शरम लाग्यो । अर्को दिन त उनी घरबाट बाहिर समेत निस्केनन् । तेस्रो दिन नै उनी झोलीझम्टा बोकेर फेरि भारत भासिए । त्यसपछि हराए झक्कड । तर, उनको प्रस्तुतीले भने यूटुयुबको ‘ट्रेन्डिङ’ धेरैदिनसम्म छाडेन् । युटूयुबर्सहरुले उनको प्रस्तुतीलाई ‘कमाई खाने भाँडो’ बनाए । थुप्रैले सब्स्क्राइब बढाए । कतिले त हजारौं आम्दानी पनि गरे । तर, उनी भने गुमनाम भए ।

यसरी पटक पटक मानिसहरुलाई हाँस्ने बहाना बनिरहने झक्कडले भने जीवनमा धेरै ‘हन्डर’ खाएका छन् । नेपाल आइडल दोस्रो संस्करण सुरु हुँदासम्म हराएका तीनै झक्कडलाई नियतिले पुनः एकचोटी काठमाडौं पुर्याएको छ । यसपटक उनी काठमाडौंमा ‘नेपाल मै केही काम पाइएला कि’ भन्ने अर्को सपना बोकेर आएका हुन् ।
पूरा पढ्नुस्