ज्योति मगरलाई महोत्सवमा निषेध

पोखरा, माघ ९ ।
लेखनाथमा हुने महोत्सवमा गायिका ज्योति मगरलाई निषेध गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले माघ ११ देखि २२ गतेसम्म सञ्चालन गर्न लागेको प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योती मगरलाई मनाही गरिएको हो । मेलाको सम्बन्धमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठीले बिकृति फैलाउने कलाकारलाई निम्तो नगरिएको बताए । उनले स्थानीय कला संस्कृति र उत्पादनको प्रबद्र्धन गर्न कार्यक्रम गरिएकाले विकृत क्रियाकपाल गर्न नदिने उल्लेख गरे ।
लेखनाथस्थित डाँडाको नाकमा हुने १४ औं संस्करणको यस महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादित समान अवलोकन एवम् किनबेचका साथै राष्ट्रिय कलाकारका विभिन्न मनोरञ्जनात्मक प्रस्तुती हेर्न पाइने व्यवस्था रहेको अध्यक्ष कृष्णहरी भण्डारीले जानकारी दिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत लुकेको प्रतिभाको खोजी अभियान अन्तरर्गत पहिलो पटक एकल नृत्य विधामा गण्डकी तारालाई निरन्तरता दिइने उनको भनाई छ । महोत्सवमा करिब एक करोड आम्दानी गरेर ८५ लाख रुपैयाँ खर्च गरी १५ लाख बचत हुने अनुमान आयोजकको छ । बचत रकम सामाजिक काममा खर्च हुने संघका उपमहासचिव एवम् प्रचारप्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोलाले बताए ।