जुवाडे र विचौलियाको घेरामा कास्की प्रहरी !

पोखरा, कार्तिक १ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाका खालहरुमा चलाएको अप्रेशनहरु मध्येको पछिल्लो एउटा घटनाले कास्की प्रहरीलाई विवादित बनाएको छ । गत आइतबार कौडा खेलिरहेका अवस्थामा एक रेष्टुरेराँबाट १५ जना जुवाडेलाई कास्की प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । तर दुईदिन बित्न नपाउँदै ती जुवाडे मध्येका तीन जनालाई कास्की प्रहरीले विभिन्न वाहानामा जनही ५० हजार धरौटीमा थुनामुक्त गरेको थियो, जसको कारण कास्की प्रहरीप्रति आशंका पैदा भएको हो ।

यतिबेला कास्की प्रहरीमा करीब तीन दर्जन जुवाडे थुनामा रहेका छन्, भने विचौलियाहरु यत्रतत्र सल्बलाइरहेका छन् । पोखरा महानगरपालिका–१८ स्थित एक रेष्टुरेराँमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापामारी नगद ६ लाख १० हजार र ३२ थान कौडासहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । यसरी प्रहरी नियन्त्रणमा परेका मध्ये पूर्णप्रसाद तिमिल्सिना (बेल्जियम), रामबहादुर थापा (अमेरिका) र कविराज पराजुली (अमेरिका)लाई मात्र कास्की प्रहरी कार्यालयबाटै धरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार केसीसँग यस विषयमा जिज्ञासा राख्दा घटनाको समयमा आफू केही दिनको विदामा रहेको बताए । यद्यपि डिएसपी केसीले घटनाका विषयमा नयाँ अपराध संहिता अनुसार सरकारी वकिलसँग सहमति लिएर तीन जनालाई धरौटीमा जुनसुकै समयमा पनि उपस्थित हुने गरी थुनामुक्त गरिएको खुलासा गरे । बाँकी १२ जना अनुसन्धानकै प्रक्रियामा रहेका डिएसपी केसीको भनाइ थियो ।

यस विषयमा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद शर्मा घिमिरेले केही थाहा नभएको बताए । जुवाको एउटै खालबाट प्रहरी नियन्त्रणमा परेका मध्ये केहीलाई दुई दिन मै छोड्ने र बाँकीलाई हिरासत मै राखेर अनुसन्धान गर्ने कार्यले कास्की प्रहरीमाथि थप आशंका उब्जाएको डिआईजी शर्माको भनाइ थियो ।

कास्की प्रहरीमा कडा रुपमा प्रस्तुत भएका एसपी दानबहादुर कार्कीले जुवा अपरेशनमा पटक–पटक छापा मारेर ठूलै सफलता हात पारिरहेका बेला यो घटनाले एसपी कार्कीको विश्वसनीयतामाथि प्रश्न उब्जाएको छ । थुनामुक्त गरिएका व्यक्तिहरु गैरआवासीय नेपाली संघको चुनावका लागि नेपाल आएका थिए । चुनावमा सहभागी हुनका लागि काठमाडौं जानु पर्ने कारण देखाउँदै धरौटीमा थुनामुक्त गरेको र आवश्यक परेको बेलामा उपस्थित गराउने सर्त राखिएको एसपी कार्कीको भनाइ छ ।

यसरी प्रहरी नियन्त्रणमा परेकाहरुलाई थुनामुक्त गर्न पूर्वमन्त्रीहरुदेखि प्रदेश सभा सदस्यहरुले कास्की प्रहरीमाथि चर्को दवाव सिर्जना गरेका थिए । यस घटनामा कास्की प्रहरीभित्रकै केही प्रहरी अधिकृतहरुको मिलेमत्तो रहेको सर्वत्र चर्चा चलेको छ । सुरुमा जुवाडेहरु प्रहरी नियन्त्रणमा पर्दा करीब ८ हजार यूरोको विषयमा प्रहरी मौन रहेको थियो ।

आफन्तहरुले सो रकम प्रहरीले लुकाएको भन्दै कुरा बाहिर ल्याएपछि सो रकम एनआरएनएको चुनावका लागि सदस्यता सुल्क बापतको रकम भन्दै बल्ल सो रकमको यथार्थता सार्वजनिक भएको थियो । प्रहरीले जुवाडेसँगै सुरुमा ६ लाख रुपैयाँ मात्र भेटिएको खुलासा गरेको थियो । ती तीनजना जुवाडेहरुलाई दुई दिनमा नैं छुटाउनका लागि पोखराको ड्यामसाइडस्थित एक होटलमा १५ लाख रुपैयाँको चलखेल भएको स्रोतको दाबी छ ।

एकातिर कास्की प्रहरीले जुवा अप्रेशनलाई तीब्रता दिनु र अर्कातर्फ कास्की प्रहरीभित्रकै प्रहरी अधिकृतहरु विचौलियाहरुसँग मिलेर जुवाडेहरुलाई थुनामुक्त गराउने खेलमा लाग्नुले कास्की प्रहरीको जुवा अप्रेशन ‘बाँदरको पुच्छर लौरो न हतियार’ भने जस्तै भएको छ । पत्रकार राजेन्द्र अधिकारीले न्यूज २४ मा लेखेका हुन् ।