जाजरकोटको बाम गठन्बधन धरापमा, बागी उम्मेदवारी दर्ता

जाजारकोट, कार्तिक ५ ।
चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म जाने भनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन जाजरकोटमा धरापमा परेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका क्रममा दुबै दलले आ–आफ्ना तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएपछि वाम गठबन्धन धरापमा परेको हो ।
प्रतिनिधिसभामा जाजरकोटबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाउने वाम गठबन्धनको सहमति विपरित एमालेले गोविन्द्रविक्रम शाहलाई उम्मेदवार बनाएपछि यो गठवन्धनमाथी कार्यकर्ताले नै प्रश्न गर्न थालेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि बस्नेतले दिउँसो नै उम्मेदवारी दर्ता गराएका थिए । त्यसलगत्तै शाहले पनि उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै प्रदेशतर्फ दुबै क्षेत्रमा एमालेलाई उम्मेदवार बनाउने भन्ने गठबन्धनमा भएको सहमति माओवादीका जिल्ला तहका नेताको असन्तुष्टीपछि भत्किएको थियो ।
माओवादीले प्रदेशतर्फ क मा गणेश सिंह र ख मा नरबहादुर कार्कीको उम्मेदवारी दर्ता गराएको छ । माओवादीले आइतबार बिहान मात्र हुम्लामा प्रदेशतर्फ एक सीट एमालेलाई छोडेर जाजरकोटमा लिने भनेर गरेको सहमति अनुसार जाजरकोटबाट प्रदेशसभामा उम्मेदवारी दर्ता गराएको थियो ।
हुम्लामा एक सिट लिने र जाजरकोटमा छोड्ने सहमतिबारे पार्टी केन्द्रले कुनै जानकारी नदिएकोले आफूहरुले उम्मेदवारी दर्ता गराएको एमालेका प्रदेशतर्फका उम्मेदवार निरज आचार्यले जानकारी दिए ।
एमालेले प्रदेशतर्फ क मा निरज आचार्यलाई र ख मा करबीर शाहीलाई उम्मेदवार बनाएको छ ।