जब नदीमै रगत बग्न थाल्यो…

एजेन्सी, कार्तिक २७ ।
उत्तर र दक्षिण कोरियाको सीमास्थित एक नदीमा एकाएक रगत बग्न थालेपछि स्थानीय त्रसित र चकित बने । पछि बुझ्दै जाँदा थाहा भयो, त्यो त सुँगुरको रगत पो रहेछ । भएको के रहेछ भने, दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभर फैलिने खतरा भएपछि प्रशासनले ४७ हजार सुँगुर काट्ने आदेश दियो । सीमाको एक डम्पिङ स्थलमा सुँगुर काटियो । तर वर्षाले त्यसलाई बगाएर सीमाको नदी इमजिनमा र्पुयायो ।

अफ्रिकन स्वाइन फिभर सुँगुरलाई लाग्ने एक संक्रमण हो, जसबाट प्रभावित सुँगुर बँच्ने सम्भावना हुँदैन । यद्यपि यसले मानिसलाई कुनै खतरा हुँुदैन । स्थानीय अधिकारीका अनुसार सुँगुरलाई मार्नुपूर्व संक्रमणको उपचार गरिएको थियो । ती सुँगुरलाई गत साता मारिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मारिएका सुँगुरको अवशेषलाई कोरियाली सीमास्थित डम्पिङ स्थलनजिकै ट्रकभित्रै छाडिएको थियो । तिनलाई पुर्न चाहिने प्लास्टिक कन्टेनर बनाउन ढिला भएपछि ट्रकमै छाडिएको बताइएको छ । गत मे महिनामा पहिलोपटक उत्तर कोरियामा स्वाइन फिभर देखिएको थियो ।

उक्त संक्रमण दक्षिण कोरिया पुग्न नदिन सरकारले हरसम्भव प्रयास गरे पनि सफल हुन सकेको थिएन । दक्षिण कोरियामा यो संक्रमण १७ सेप्टेम्बरमा देखिएको थियो । दक्षिण कोरियामा ६७०० सुँगुरफार्म छन् । यो रोगबाट चीन, भियतनाम र फिलिपिन्ससहित एसियाका कैयौं देश प्रभावित छन् । चीनमा मात्रै १२ लाख सुँगुर मारिएको थियो ।