जन्मभूमिको विकासमा सहयोगी बन्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह

 

काठमाडौं, असोज २८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मभूमिको विकासमा सहयोगी बन्न गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेकी छन् ।

एनआरएनएको नवौं विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले एनआरएनएले विश्वमा नै सद्भावनादूतका रुपमा रहेर काम गर्नसक्ने भन्दै नेपालको आर्थिक विकासको साझेदार बन्न आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले एनआरएनएले पुँजी र प्रविधि नेपालको आर्थिक विकासमा लगाउन आह्वान गरिन् ।

उनलेले भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पनि सहयोग गर्न एनआरएनएलाई आग्रह गरिन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासको चाहना पूरा गर्न एनआरएनएको आवश्यकता पर्ने भएकाले सरकार उनीहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

एनआरएनएले नेपालको हरेक दुःखमा साथ दिएको भन्दै उनले समृद्धिको यात्रामा ज्ञान र प्रविधिमार्फत् पनि साथ रहने विश्वास व्यक्त गरे ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ नारा रहेको सम्मेलनले नयाँ नेतृत्व छान्नेछ ।

तीनदिने सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि एवं अरु स्वदेशी–विदेशी गरी करिब दुई हजार ५०० को सहभागिता रहेको छ ।

यो वर्षको विश्व सम्मेलन पनि विगतमाझैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको छ । (ईमेजखबरबाट साभार)