छैटौँ जननी तीज बिषेश कार्यक्रम सम्पन्न, तीज गीत प्रतियोगिता तर्फ धारापानी आमा समुह प्रथम

 

पोखरा, भदौ १३ ।

छैटौँ जननी तीज बिषेश कार्यक्रम एवं “लैङ्गिक हिंसा विरुद्धको अभियान, उद्यमशिलता र पर्यटन प्रर्वद्धन सम्बन्धि तिज गित प्रतियोगिता २०७६” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम रेडियो जननी ९०.६ को आयोजना तथा श्री लिलाभक्त आचार्य फाउण्डेशनको सहकार्यमा बुधबार सम्पन्न भएको हो ।

पद्मावती मिडिया प्रा.लि द्वारा सञ्चालित रेडियो जननी ९०.६ को आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले यस पटक लैङ्गिक हिंसा विरुद्ध सचेतना जगाउने साथै उद्यमशिलता र पर्यटनलाई प्रर्वद्धन गर्ने विषयामा केन्द्रित रहेर आफ्नो प्रस्तुति दिएका थिए ।

तीज गीत प्रतियोगिता अन्तर्गत धारापानी आमा समुहले प्रथम हुँदै नगद रु २० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ भने नमुना आमा समहले द्वितिय हुदै नगद रु १५ हजारसहित प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगितामा कामधेनु महिला कृषक समुहले तृतीय हुँदै नगद रु १० हजार जितेको छ । त्यस्तैगरी सान्त्वना हुँदै महिला क्लब पोखराले रु ५ हजार पुरस्कार हात पार्न सफल भएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषा तर्फको पुरस्कार सक्षम अभियान नेपालले जितेको छ भने अल्कारपुर आमा समुहले उत्कृष्ट स्वर तर्फको पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगिताको निर्णायकमा लोक गायिका सिता केसी, गायक घनश्याम रिजाल, साहित्यकार एवं लोक गायिका अम्बिका भण्डारी रहेका थिए । तीज गीत प्रतियोगितामा २३ समुहले सहभागीता जनाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कंग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सुर्यबहादुर केसीले हिन्दु नारीहरुको महान पर्व तीज महिलाहरुको स्वतन्त्रतासँगै राष्ट्रलाई सही मार्गनिर्देश गर्नका निम्ति तिज गितको माध्यमबाट राजनितिक, धार्मिक, सामाजिकलगायत विषयमा सरोकार राख्ने व्यक्तिलाई सचेतसँगै खबरदारी गराउने पर्व रहेको बताए । रेडियो जननीले उद्यमशीलता क्षेत्रमा महिलाहरुको पहुँचलाई बढावा दिने कार्य गरेको प्रति खुसी प्रकट गर्दै आर्थिक आपुर्तिमा मातृशक्तिहरुले देखाएको जोशलाई देशले गौरवको रुपमा हेर्नुपर्ने उनको भनाई थियो । सामाजिक मुल्य मान्यतामा आघात पुग्ने जस्ता क्रियाकलाप बढ्दो रहेको तर्क गर्दै केसीले चामलमा रहेको बिँयालाई फ्याकेजस्तै त्यस्ता नकरात्मक कुरालाई फ्याक्न आवश्यक रहेको उनले उल्लेख गरे ।

र्कायक्रम सफल गर्नका लागि रेडियोसंग सहकार्य गर्नुभएका श्री लिलाभक्त आचार्य फाउण्डेसनका संरक्षक प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले सामाजिक सेवाको उद्देश्य राखेर स्थापना भएको श्री लिलाभक्त आचार्य फाउण्डेसनले यस बर्ष जननीसँग सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । महिलाहरुको आत्मबल बढाउने कार्यलाई जननीले निरन्तरता दिँदै आएको भन्दै उनले अझै यस्ता कार्य तर्फ उन्नति प्रगति हासिल गरोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै संविधानसभा सदस्य शारदा पौडलले रेडियो जननीले गाउँगाउँमा गएर महिलाहरुलाई नेतृत्वदायी भुमिकामा अगाडी बढाउन खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले समयानुसार तिज मनाउने प्रचलन पनि परिवर्तन हुदै गएको भन्दै भावनात्मक सम्बन्धलाई जोड्ने काम जननीले गरेको बताइन् ।

यसैगरि सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले आर्थिक रुपान्तरणका निम्ति महिलाहरुले उद्यमशीलता तर्फ उन्मुख हुनै पर्नेमा जोड दिइन् । दिगो बिकासको लक्ष्य लिएको सरकारले महिलाहरुको उद्यमशीलता क्षेत्रमा बिशेष योगदान पु¥याउँदै आएको जानकारी दिदै हिंसा मुक्त घरको निर्माण गरी आफैबाट कार्यको बोझ घटाउन उपस्थित सबैमा आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै रेडियो जननीका अध्यक्ष मिलन थापाले रेडियोले विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि जननीले तिजको अबसर पारेर कार्यक्रममा समाजमा लिङ्गको आधारमा भईरहेको विभेद र त्यसले समाजमा परेको असर तथा समग्र विकासको स्थिती दर्शाउने जमर्कोे गरेको बताइन् । नेपाल सरकारले यस वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा अघि बढाउदै गर्दा महिलाहरुद्वारा संचालित महिलाहरु मात्रै कार्यरत रेडियो जननीले यस विषयको चर्चा परिचर्चा तथा सचेतना जगाउने कार्य गर्नुपर्छ भन्ने अभिप्रायका साथ कार्यक्रम गरेको उनल बताइन् ।

रेडियोका कार्यकारी निर्देशक सविता शेरचनले हरेक वर्ष रेडियो जननीले तिजको कार्यक्रम गरिरहंदा व्यवसायिक पाटोलाई मात्र नभएर समाजप्रतिको उत्तरदायित्व बहन गर्ने कार्यहरु गर्दै आइरहेको भन्दै कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्न साथ र सहयोग प्रदान गर्नुभएका सम्पुर्ण व्यक्तित्व, संघसंस्था, व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

रेडियो जननीका स्टेशन म्यानेजर एवं कार्यक्रमका संयोजक विमला भण्डारीले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजकोे जर्गेना गरी उद्यमशीलतासँगै लैङ्गिक हिंसा बिरुद्धको आवाजलाई प्रतियोगिताको माध्यमबाट उजागर गर्ने प्रयासमा रेडियो निरन्तर लागिरहेको बताइन् । हरेक स्थानमा पुरुष सरह महिलाहरुको पनि समान पहुँच हुनुपर्ने सन्देश यसपालीको तिज गित प्रतियेगिताले दिएकोमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रतियोगिताका लागि सहकार्य गर्र्ने लिला भक्त फाउन्डेसनका संरक्षक प्रजातन्त्र सेनानी एवं समाजसेवी लिलाभक्त आचार्य र उनकी धर्मपत्नी योगमाया आचार्य, पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेलाई कार्यक्रमका प्रमुख अतिथि केसीले दोसल्ला सहित मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं ९, २ र ३, एन.आई.सि एशिया बैँक, मंगलदिप अगरबत्ति, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको विषेश सहयोगमा सम्पन्न उक्त कार्यक्रमको सहयोगीमा टिभि एग्रो, ओम डेभलप्मेन्ट बैँक, वडा नं १७, नबिल बैँक,सपना आर्यूवेद हस्पिटल, लगायत रहेका थिए ।