छाप्रोमै भूकम्प पीडितको दशैं

पोखरा, असोज ५ ।
दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मुलुकभर ६ लाख ३७ हजार पाँच सय १८ भूकम्पपीडितसँग अनुदान सम्झौता भएको थियो । त्यसमध्ये ४८ हजार नौ सय २६ ले मात्रै निजी आवास निर्माण गरेका छन् । बाँकी पाँच लाख ८८ हजार ६ सय ९२ भूकम्पपीडितले अझै घर बनाउन सकेका छैनन् ।
प्राधिकरणले भूकम्पपीडितलाई पहिलो, दोस्रो र तेस्रो किस्ताबापत अहिलेसम्म ४२ अर्ब ३१ करोड ६२ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ । पहिलो किस्ताबापत ६ लाख सात हजार एक सय १३ जनाले ३० अर्ब ३५ करोड ५६ लाख ५० हजार रुपैयाँ लगेका छन् । दोस्रो किस्ताबापत ७५ हजार ६ सय ७२ पीडितले ११ अर्ब ३५ करोड आठ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै, तेस्रो किस्ताबापत ६० करोड ९८ लाख रुपैयाँ वितरण भइसकेको छ । ६ हजार ९८ भूकम्पपीडितले सो रकम बुझेका हुन् ।