चुनाव गराउने सहमति पछि पेकको आन्दोलन स्थगीत

पोखरा, मंसिर १९ ।
दुई सातादेखि अन्यौलमा रहेको पोखरा इन्जिनियरिङ कलेजको विवाद समाधान भएको छ । मंगलबार क्याम्पस प्रशासन र विद्यार्थी संगठन बीच बैठक बसेर सहमति खोजिएको हो । स्ववियू चुनावको विषयलाई लिएर क्याम्पसभित्र विद्यार्थी संगठनहरु आन्दोलित थिए ।

तत्काल चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले मंसिर ७ गते तालाबन्दी गरेको थियो । तर मंसिर ९ गते असम्बन्धित ब्यक्तिहरुले ताला फोडेको आरोप लगाउँदै नेविसंघले क्याम्पसमा थप तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

तोडफोड र तालावन्दीको घटनाबारे छानवीनको माग गर्दै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले माघ १० गते संयुक्त विज्ञाप्ती निकालेका थिए । लामो समय छलफल र बार्ता गरेपछि मंगलबार घटनाबारे सहमति निकालिएको हो ।

अनेरास्ववियूले पनि तत्काल स्ववियू चुनाव गराउन माग गरेको छ । क्याम्पस प्रशासनले चाहीँ विद्यार्थी कल्याणकारी परिषद्को चुनाव गर्ने तयारी गरेको छ । माघ ५ गते परिषद्को चुनाव गराउने क्याम्पसको तयारी छ । यद्यपी सबैजसो विद्यार्थी संगठनले परिषद् भन्दा स्ववियू चुनावलाई प्राथमिकता दिनुपर्ने माग अघि सारेका छन् ।

मंगलबार बसेको बैठकले परिषद् र स्ववियू मध्ये एउटालाई प्राथमिकता दिनका लागि समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा क्याम्पस प्रशासनबाट दुईजना र विद्यार्थी संगठनबाट एक÷एक जना प्रतिनिधि रहनेछन् र समितिले पोखरा विश्वविद्यालयसँग समन्वय गर्नुपर्नेछ ।

मंगलबारको बैठकमा क्याम्पस प्रशासनबाट सहायक क्याम्पस प्रमुख रोजना जोशीको संयोजकत्वमा प्रशासनतर्फतबाट राजु पुरी, सुरज बसन्त तुलाचन, अनुज शेरचन, हिमलाल भुषाल, चिजकाजी गुरुङ र अम्बर गुरुङ सहभागी थिए भने विद्यार्थी संगठनबाट सुन्दर गिरी, किशोर सुवेदी, विनय कार्की, भिष्मराज पौडेल, मौसम बराल र मौसम तिमिल्सीना सहभागी थिए ।

योसँगै, विद्यार्थीहरुले राखेका अन्य मागहरु पनि प्रशासनले सम्बोधन गरेको छ । अनियन्त्रित रुपमा राखिएका निर्माण सामग्री तत्काल ब्यवस्थित गर्ने, आभरसियर र ब्याचलरका विद्यार्थीको पुस्तकालय छुट्टाछुट्टै बनाउने, इ–लाईब्रेरीको ब्यवस्थापन गर्ने लगायत १० बुँदे सहमति भएको हो ।

अनेरास्ववियूले मंसिर १६ गते अर्को विज्ञप्ती जारी गर्दै दक्ष र अनुभवी शिक्षकको ब्यवस्था गर्न तथा प्रयोगात्मक कक्षाका लागि आवश्यक उपकरण उपलब्ध गराउन माग गरेको थियो । तर माग सुनुवाई नभएपछि आईतबार क्याम्पस प्रशासनमा तालाबन्दी समेत गरिएको थियो । सहमति पछि सबै आन्दोलनका कार्यक्रम स्थगीत गरिएको अनेरास्ववियूका प्रतिनिधि सुन्दर गिरीले जानकारी दिए ।