चुनावले नछोएको भूकम्पपीडितका टहरा

गोरखा, कार्तिक ७ ।
भूकम्प गएको ३ बर्ष पुग्नै लाग्यो । सग्ला घरहरु गल्र्यामगुर्लुम ढलेपछि यतिबेला गोरखाका भूकम्पपीडित घर बनाउने चटारोमा छन् । सँगै अर्को चटारो थपिएको छ, चुनावको । प्रदेशसभा र प्रतिनिधीसभाको चुनाव नजिकै आएपनि गोरखाका भूकम्पपीडितलाई चुनावले छोएकै छैन ।
भूकम्पले भत्किएको घर कसरी पुनर्निर्माण गर्ने भन्ने चिन्ताले पीडितलाई छोडेको छैन । आर्थिक अवस्था कमजोर भएकै कारण ग्रामीण भेगका अधिकांश पीडितले घर बनाउन सकेका छैनन् । चुमनुव्री गाउँपालिका–६ चुम्चेतका पीडितहरु भने प्राविधिकको पर्खाइमा बसिरहेका छन् ।
भूकम्पपछि अनुदान सम्झौताका लागि एक पटक मात्र प्राविधिक भेटेका चुम्चेतका पीडितहरुले त्यसयता उनीहरुको मुख पनि देख्न पाएका छैनन् । प्राविधिक अभावका कारण उनीहरुले भत्किएको घर पुनर्निर्माण गर्न नसकेका हुन् ।
‘सरकारले भनेअनुसार घर बनाउनुपर्छ रे, कस्तो बनाउनु पर्ने हो थाहा छैन । प्राविधिक पनि आउँदैनन्, कसलाई सोध्नु ?’ स्थानीय कर्मा लामाले गुनासो गरे । आफूखुशी घर बनाउँदा अनुदान रकम नपाइने चिन्ता रहेको उनले बताए ।
अढाइ सय घरधुरी रहेको चुम्चेतमा सबै पीडित महिनौंदेखि प्राविधिकको बाटो हेर्दै बसेका छन् । प्राविधिक झुल्किने आशा पूरा नहुँदा अस्थायी टहराकै कष्टकर जीवन बाध्यता बनेको छ, उनीहरुका लागि ।
अधिकांश पीडितले काठ र ढुंगा जम्मा गरिसकेका छन् । स्थानीय पासाङ लामाले भने, ‘तर, प्राविधिक आउँदैनन्, घर बनाउने कहिले हो कहिले !’ सरकारले अनुदान रकम लिने समय सीमा भने तोकिसकेको छ । घर निर्माण सुरु नै नभएका कारण उनीहरु सरकारी अनुदानबाट छुट्ने चिन्तामा छन् ।
स्थानीय शेराप गुरुङको भनाइमा अन्य ठाउँमा घर बनिसकेको देख्दा मन खिन्न हुन्छ । ‘हामीलाई सरकारले वास्ता नै गरेन,’ उनले भने ।