चुनावलाई १ लाख म्यादी प्रहरी भर्ना गरिने

काठमाण्डौं, असोज २४ ।
आगामी मंसिर १० र २१ ग्ते हुने प्रतिनिधीसभा र प्रदेश सभाको चुनावका लागि झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी अपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
म्यादी प्रहरी भर्ना गर्ने प्रस्तावलाई निर्वाचन आयोगले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने निर्णय गरेको छ ।
यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खाना÷खाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।
यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने निर्णय गरेको छ । म्यादी प्रहरी भर्नाका लागि ‘म्यादी प्रहरी भर्ना छनोटसम्बन्धी मापदण्ड २०७४’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।