चुनावअघि सरकार ढल्दैन–एमाले

काठमाडौं, असोज १८ ।
नेकपा एमालेले तत्काल सरकार ढाल्ने मनस्थिती नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेको प्रमुख विपक्षी दल एमालेले वामपन्थी गठवन्धनको उद्देश्य सरकार ढाल्ने नरहेको उल्लेख गरेको हो ।
एमालेसँग चुनावी तालमेलको सहमति गरेको सत्तारुढ माओवादीले पनि सरकारको समर्थन फिर्ता नलिने बताइसकेको छ । एमालेले देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गराउँदा आपत्ति नरहेको बताएको छ ।
एमाले माओवादी गठबन्धन लगत्तै अहिलेको सत्ता गठबन्धन भत्किएको र नयाँ सरकार बन्ने आशंका भइरहेका बेला एमाले उपमहासचिव बिष्णु पौडेलले सरकार परिवर्तनतिर एमालेको कत्ति पनि रुची नरहेको प्रतिक्रिया दिए ।
अहिले निर्वाचन कार्यक्रम आइसकेको र आचारसंहिता समेत लागु भइसकेकोले निर्धारित मितिमा चुनाव गराउने बाहेक एमालेको अरु कुनै उद्देश्य नभएको उनले बताए ।