चीनबाट ल्याइने नेपालीलाई चार स्थानमा राखिने, चीनलाई एकलाख मास्क सहयोग गर्ने

 

काठमाडौं, माघ २३ ।

सरकारले चीनबाट नेपाल ल्याइने विद्यार्थी र नागरिकलाई चार स्थानमा क्वारेन्टाइन स्थल बनाइ राख्ने निर्णय गरेको छ । सरकारले उनीहरुलाई शिवपरी, इचंगुनारायण, सूर्य्विनायक र खरिपाटीमा राख्न क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनमा रहेका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।

उनीहरुले आफ्नो उद्दार नगरेकोमा सरकारको आलोचना गरिरहेका छन् भने नेपालमा पनि सरकारले तत्काल कदम नचालेकामा आलोचना भएको छ । सरकारले भने स्वदेश फर्काएपछि राख्ने ठाउँ तयार नभएको भन्दै ढिलो गर्दै आएको छ । सुरक्षित स्थान खोज्नकै लागि सरकारले लामो समय लगाइरहेको छ ।

प्रधानमन्त्री ओलीले नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई ख्याल गरी नागरिकको स्वास्थ्य र सुरक्षामा समग्र तयारीका साथ जुट्न सम्वद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिएको पनि थापाले जानकारी दिए ।

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराईलगायत उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना पेश गरेका थिए भने परराष्ट्र सचिव शंकरदास बैरागीले पछिल्लो अवस्थाको जानकारी गराएका थिए ।

नेपालले १ लाख प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको पनि थापाले जानकारी गराएका छन् ।
(ईमेजखबरबाट साभार)