चिसोको वित्यास–एकैदिन ३ जनाको मृत्यु

इनरुवा, पुस २७ ।
अत्यधिक जाडो र शीतलहरका कारण सुनसरीमा दुई जना र सिरहामा थप एक जनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउँपालिका–४ का ६५ वर्षीय रौदी साहको मृत्यु भएको स्थानीय समाजसेवी प्रदीप मेहताले जानकारी दिए । गरीब र विपन्न तथा दलित समुदायका भएकाले प्रहरीमा जानकारी नगराएको कारण जाडोबाट उनीहरुको मृत्यु भएको नभएको यकिन हुन समस्या भएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जाडोका कारण सुनसरीमा मृत्यु भएको विषयमा आफूसमक्ष कुनै जानकारी नआएको बताएका छन् ।
यस्तै अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको गएराति कठ्यांग्रिएर मृत्यु भएको हो । यससँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर निवासी ४१ बर्षीय माकोदेवी पासवान र कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा्स्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियो ।
आइतबार गोलबजार नगारपालिका–४ निवासी शम्भु साहका ६ वर्षीय छोरा लभकुमार र गोलबजार–२, लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७, कसहा निवासी ५५ वर्षीय रामरतन महतोको पनि चिसोकै कारण मृत्यु भएको थियो । अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन् ।