चियागफमा सकियो कास्कीको भूकम्पिय सुरक्षा दिवस

पोखरा, माघ २ ।
नेपाल भूकम्पिय दृष्टीले बहुत जोखिमको क्षेत्र हो । त्यसमाथी पोखरा, झनै जोखिमपूर्ण रहेको विज्ञहरुको रिपोर्ट छ । नयाँ माटोले बनेको पोखरामा हल्लिने गरी भूकम्प आएकै छैन भन्छन्–भुगोलविद् प्राडा कृष्ण केसी । उनको गुनासो पनि छ, पोखरामा मापदण्ड कार्यान्वयन र भुगोलको अध्ययन । महानगरभित्र माटो परीक्षण नगरी जथाभावी घरहरु निर्माण गर्दा जोखिम थपिँदै गएको उनी बताउँछन् । यसतर्फ सरकारी र सरोकारवाला निकायको चासो पनि निकै कम छ ।
मंगलबारको भूकम्पीय सुरक्षा दिवस पोखरामा सरकारी र गैरसरकारी हाकिमहरुको चियगफमा सकियो । जिल्ला दैवी प्रकोप उद्धार समितिले अघिल्ला बर्षहरुमा जस्तै कार्यालयका हाकिमहरु बोलाएर पूराना डकुमेण्ट देखाउँदै दिवस मनाएको छ । ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नारा तय भएको यसबर्षको भूकम्पिय सुरक्षा दिवसमा कास्कीले देखिने गरी वा प्रभाव पार्ने गरी खासै कार्यक्रम गरेन ।
कार्यक्रमका सहभागीहरुले आगामी दिनमा सचेत हुनुपर्छ भन्ने साझा धारणा राखे । क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले भूकम्पिय दृष्टीले नेपाल निकै जोखिमपूर्ण रहेको भन्दै त्यसका लागि पूर्व तयारी र भौतिक संरचना निर्माणमा सचेत हुनुपर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरकले संरचनागत मापदण्ड तयार गरेर कार्यान्वयन गर्ने पक्षलाई उठाए । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले स्थानीय सरकारले भूकम्पको पूर्व तयारीमा जोड दिनुपर्ने बताए । उनले जोखिम न्यूनिकरण सरकारको मात्र नभई सबैको साझा सवाल भएको भन्दै त्यसलाई सबैले कार्यान्वयको बाटोमा केन्द्रित गर्नुपर्ने बताए । अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिल शाहीले गरेका थिए । कार्यक्रमको आयोजना जिल्ला दैवी प्रकोप उद्धार समिति र शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीले गरेको हो ।
विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।