चिनियाँ राष्ट्रपति सी काठमाडौंमा

 

काठमाडौं, असोज २५ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणकाक्रममा शनिबार अपराह्न काठमाडौं आइपुगेका छन् ।

उनी सवार एअर चाइनाको विशेष विमान शनिबार अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

राष्ट्रपति भण्डारीले उनलाई विमानस्थलमा स्वागत गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुलगायत पनि उनको स्वागतका लागि विमानस्थल पुगेका छन् ।

उनलाई विमानस्थलमै ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।

भारतको दक्षिण राज्य तमिलनाडुको चेन्नाईबाट सी सोझै काठमाडौं आएका हुन् ।

राष्ट्रपति सी विमानस्थलबाट सोल्टी होटेल पुग्नेछन् । त्यसपछि साँझ साढे ६ बजे नेपाली समकक्षी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास पुग्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले शनिबारै साँझ राष्ट्रपति सीको सम्मानमा सोल्टी होटेलमा रात्रिभोज आयोजना गर्दैछिन् ।

रात्रिभोजअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोल्टी होटेलमै राष्ट्रपति सीसित शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । (ईमेजखबरबाट साभार)