चिनियाँ राजदुतसँग मुस्ताङीको माग–”कोरला नाका खोलिदिनु”

सुन्दरकुमार थकाली
मुस्ताङ, असोज ३१ ।
नेपाल स्थित चिनियाँ राजदूत यूहाङ सहित कुटनितिक नियोगको ५ सदस्यीय टोलीले हिमालपारी मुस्ताङको ३ दिने पदयात्रा भ्रमण गरेको छ । मुस्ताङ बसाईका क्रममा टोलीले सदरमुकाम जोमसोम र उपल्लो मुस्ताङको भ्रमण गरेको थियो ।
भ्रमण पदयात्राको क्रममा चिनियाँ टोलीले ऐतिहासिक लोमान्थाङ दरबारको अवलोकन गरेको छ । लोमान्थाङ र छोसेरमा रहेका बिभिन्न गुम्बा तथा गुम्बा बिद्यालयहरुको समेत अवलोकन गरेको दालोमे गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु)ले जानकारी दिए । बिष्टका अनुसार १ वर्षअघि चिन सरकारबाट सहयोग प्राप्त ७० किलोवाट सौर्यउर्जा समेत टोलीले अवलोकन गरेको थियो ।
उनीहरुले सदियौ पुरानो ऐतिहाँसिक छोसेर गुफाको समेत निरीक्षण गरे । यसअघि चिनियाँ राजदूत यूहाङको टोलीलाई लोमान्थाङ गाउँपालिका अध्यक्ष सुवर्ण कुमार बिष्ट, सोहि गाउँपालिकाका वडाअध्यक्ष रिङझिङ धोर्जे, दालोमे गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु), समाजसेवी ईन्द्रधारा बिष्ट, ईलाका सरकारी निकायका प्रमुखहरु, लोमान्थाङका स्थानीय समुदाय तथा पूर्व राजपरिवारका सदस्यहरुले भब्य स्वागत गरे ।
जोमसोमबाट हेलिक्पटर मार्फत उपल्लो मुस्ताङ पुगेको चिनियाँ राजदूत यूहाङको टोलीलाई उत्तरी कोरला नाका खुलाईदिन स्थानीयले आग्रह गरे । निर्वाचित जनप्रतिनिधिहरुले द्धिपक्षिय हितका बिषयमा छलफल गरेका थिए । स्थानीयले बहुचर्चित कोरला नाका खोल्न र नाका सम्मको पँहुचमार्ग बिस्तारमा चीन सरकारको सहयोग आवश्यक रहने बताए ।
‘हामिले महामहिम राजदूत समक्ष कोरला नाका खोल्ने वातावातरण मिलाईदिन भन्यौं, वडाअध्यक्ष रिङझिङ धोर्जेले भने–‘कोरलानाका हाम्रो एकमात्र मिसन भएको जानकारी गरायौं ।’ कोरला नाका सञ्चालन भए मुस्ताङकै मुहार फेरिने उनले बताए । नाका खोल्ने बिषयमा राजदूत यूहाङ सकारात्मक रहेको उनले बताए ।