चिनियाँ अध्ययन टोली भन्छ–पोखरामा रेल आउँछ

पोखरा, कार्तिक २३ ।
चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ ।
अध्ययन पश्चात टोलीले काठमाडौं–पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएका छन् । रेल विभागका प्रवक्ता प्रकाशभक्त शर्माकाअनुसार स्थलगत अवलोकनपछि उनीहरुले रेल निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरको प्रतिक्रिया थियो ।
‘पोखरा आइपुगेको चिनियाँ टोलीले अवलोकनपछि सकारात्मक प्रतिक्रिया दिएका छन्, अब बिहीबार यो टोलीले लुम्बीनीसम्मको भौगर्भिक अध्ययन गर्दैछ,’ उनले भने,’चिनियाँ टोलीको प्रतिक्रियालेहामी पनि उत्साहित छौं ।’
केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली सोमबार काठमाडौं आएको हो । सोमबार देखि उनीहरुले निरन्तर रेलका बारेमा छलफल तथा स्थलगत अवलोकन गरिरहेको छ ।
नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न टोलीले जिम्मेवारी पाएको छ । तिब्बती पठारको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म जोड्ने योजना छ ।
नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र पर्छ, उक्त रेलमार्ग । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अगाडि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । उक्त रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग त्यस सम्बन्धी सम्झौता भएको छैन ।
विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै उक्त रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् । अब सरकारी स्तरबाटै यो विषयलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ । चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमानासम्म रेलवे विस्तार गरिनेछ । चिनियाँ अनुसन्धानकर्ताहरुले यो रेल सेवा द्रुत गतिको भने नहुने बिहीबार आयोजित एक कार्यक्रममा बताएको पीटीआईले जनाएको छ ।
चीनले ११ सय किलोमिटर रेलमार्ग मार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मै रेल र्पुयाएको छ । त्यसपछि २५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइर्पुयाएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने भन्ने छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै नेपाली सीमा केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ ।
केरुङ सीमाक्षेत्र समन्द्री सतहबाट २८०० मिटरको उचाइमा छ । जबकी नेपालमा १८०० मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारका लागि भौगोलिक रुपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।