चिकित्सक नहुँदा गण्डकीको उपचार प्रभावित

पोखरा, असोज ४ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बालरोग विभागमा दैनिक १ सय ५० को हाराहामीमा बिरामी आउँछन् । तर अस्पतालले विशेषज्ञ चिकित्सक व्यवस्था गर्न नसक्दा मेडिकल अफिसरको भरमा बिरामी जाँच हुने गरेको छ । दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा नवजात शिशु उपचार कक्ष बन्द हुने अवस्थामा पुगेको छ । भरपर्दो उपचार नपाउँदा सेवाग्राह महंगो शुल्क तिरेर निजी अस्पताल धाउन वाध्य छन् ।
उक्त अस्पतालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ११ औं तह र वौं तहका २ डाक्टरको दरबन्दी छ । ११ औं तहको दरबन्दीमा डा. गणेशकुमार राई छन् । पोखरामा दरबन्दी भएका उनी कान्ति बाल अस्पतालको निर्देशक छन् । अहिले ११ औं तहका डा. श्रीकृष्ण श्रेष्ठ क्षेत्रीय अस्पतालको बालरोग विभाग प्रमुख हुन् । डा. श्रेष्ठ आफै बिरामी परेकाले ओपिडीमा सेवा दिन सकेका छैनन् । करारका ५ जना मेडिकल अफिसरको भरमा बालरोग विभाग चलिरहेको छ ।
उक्त अस्पतालको नवौं तहका २ वटै दरबन्दी अहिले खाली छन् । उक्त दरबन्दीमा २ महिना अघि मन्त्रालयले पठाएका डा. जगतजीवन घिमिरे अघिल्लो साता काजमा काठमाडौं गएका छन् । अर्को पद त झन् वर्षौदेखि खाली छ । विभागीय प्रमुख डा श्रेष्ठ भन्छन्,‘भरपर्दो सेवा पाइन्छ भनेर टाढा टाढाबाट सेवाग्राही आउँछन्, जनशक्तिको कमीले भरपर्दो सेवा दिन सकेका छैनौं ।’
क्षेत्रीय अस्पतालमा दैनिक सरदरमा ३० महिला सुत्केरी हुन्छन् । उनीहरुबाट जन्मेका बच्चामा देखिने जटिल खालका रोगको उपचारका लागि ३ वर्ष अघि नवजात शिशु उपचार कक्ष(एनसियु) सञ्चालनमा ल्याइएको हो । २५ बेडको एनसियु सधैंजसो भरिभराउ हुन्छ ।
यसवाहके बच्चा वार्डमा पनि उत्तिकै बिरामी हुन्छन् । तर ती बिरामीको उपचारका लागि अस्पताल प्रशासनले चासो देखाएको छैन । ‘जनशक्ति कम भयो भनेर अस्पताल प्रशासनलाई जानकारी गराएकै छौं, तर यस बारेमा सुनुवाई भएको छैन, विभागीय प्रमुख डा. श्रीकृष्ण श्रेष्ठले भने ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत यो अस्पताल सञ्चालित छ । छिटै नै शैक्षिक कार्यक्रम सुरु गर्न लागेको प्रतिष्ठानले विशेषज्ञ चिकित्सक नहुँदा जनशक्ति अभाव खेप्नुपर्ने निश्चित देखिएको छ । निमित्त निर्देशक डा. अधिकारीले भने,‘उपचारकै लागि चिकित्सक छैनन्, एकेडेमी सञ्चालन भएपछि के हुने होला ?’