चर्चामा प्रदेश १ को राजधानी इटहरी सार्ने विषय

मोरङ, वैशाख १८ ।

प्रदेश नम्बर एकको राजधानी सुनसरीको इटहरीलाई बनाउने विषयले एकाएक चर्चा पाएको छ । अस्थायी मुकाम रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने बारेमा छलफल चलिरहेका बेला राजधानी इटहरी सार्न मुख्यमन्त्री शेरधन राई र केही मन्त्री नै गोप्य रुपमा लागेको भन्ने खबर आएपछि यसले चर्चा पाएको हो । विराटनगरलाई नै स्थायी राजधानी कसरी बनाउन सकिन्छ भन्ने विषयमा विराटनगरमा नागरिक समाज, विभिन्न संघसंस्था, उद्योगीलगायतले छलफल बढाइरहेका बेला मुख्य मन्त्री राईसहित केही मन्त्रीले प्रदेश राजधानी इटहरीमा सार्न खोजेको कुरा सार्वजनिक भएको हो ।

नेपालको मुुख्य राजनीति, आर्थिक सहरको रुपमा रहेको विराटनगरमा राजधानीका लागि प्रशस्त उपयुक्त पूर्वाधार भएकाले अब चाडैँ स्थायी राजधानी विराटनगरलाई नै बनाउनु पर्ने नागरिकहरुको माग छ । यस्तै, एक नम्बर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राजधानी सार्ने हल्ला प्रदेश सरकारलाई असफल बनाउने प्रयास रहेको बताउनुभएको छ । राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले सरकारले चाहँदैमा राजधानी नतोकिने भएकाले यो विषयमा आएका कुरा हल्ला मात्र भएको उहाँको दावी छ ।