घोराहीमा विमानस्थल बनाउन गृहकार्य सुरु, जग्गा खोज्ने काम उपमहानगरलाई जिम्मा

दाङ, वैशाख १५ ।

घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारसँग समन्वयको कार्य थालेको छ । नगर क्षेत्रमा तत्कालका लागि प्रदेशस्तरको र भावी अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन सकिने गरी केन्द्रीय सरकारसँग समन्वयको कार्य अघि बढेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । नगर प्रमुख चौधरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल, सांसद सुजिता शाक्यसहितका टोलीले संघीय सरकारका पर्यटन तथा नागरिक उड्यन मन्त्री रबीन्द्र अधिकारीसहित विभागका महानिर्देशक र प्राविधिकहरुसँग छलफल गर्नुभएको छ ।

टोलीले विमानस्थल निर्माणका लागि आवश्यक पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसम्म जानकारी गराएको नगर प्रमुख चौधरीले जानकारी दिनुभएको छ । सकेसम्म आउँदो आर्थिक वर्षका लागि संघीय सरकारले ल्याउने नीति कार्यक्रम र बजेटमा दाङको घोराही नगर क्षेत्रमा विमानस्थल निर्माणको योजना ल्याइने पर्यटनमन्त्री रबीन्द्र अधिकारीले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट समेत विनियोजन गरेको छ । पर्यटन मन्त्री अधिकारी, मुख्यमन्त्री पोख्रेल, नगर प्रमुख चौधरीलगायत मन्त्रालयका डिजीसहितको छलफलमा घोराही उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन सहजीकरण गर्ने जिम्मा दिईएको छ ।

अब घोराही उपमहानगरपालिकाले सम्भाव्य स्थानहरुको खोजी र पहिचान गरेर कामलाई केन्द्र सरकारको समन्वयमा अघि बढाउने नगर प्रमुख चौधरीले बताउनुभयो । ‘तत्कालका लागि डोमेस्टिक विमान आउने विमानस्थलको निर्माण गर्ने गरी छलफल अघि बढेको छ’, नगर प्रमुख चौधरीले भन्नुभयो, ‘तर हामीले जग्गाको व्यवस्थापन गर्दा भोलिका दिनमा त्यस विमानस्थललाई अन्तर्रा्ष्ट्रिय स्तरको बनाउने गरी पूर्वाधारको खोजी र तयारी हुने छ ।’ जिल्ला मालपोत र नापी शाखालाई विमानस्थल बनाउन सकिने गुठी र ऐलानी जग्गाको खोजी गर्न लगाउने तयारी भएको प्रमुख चौधरीको भनाई छ ।