घान्द्रुक सँधै उज्यालो

प्रकाश ढकाल
पोखरा, असोज १९ ।
पर्यटकीय गाउँ घान्द्रुक साना जलविद्युत आयोजनाले भरिएको छ । यो ठाउँमा हालसम्म केन्द्रिय प्रशारण लाईन पुगेको छैन । तर स्थानीय स्तरमै उत्पादन भएको विद्युतले चौविसै घण्टा उज्यालो हुन्छ । अन्नपूर्ण गाउँपालिका १० र ११ नम्बर वडा रहेको घान्द्रुकका प्रत्येक घरमा बिद्युत विस्तार भैसकेको छ । यी दुई वडामा मात्रै २२ वटा भन्दा बढी साना जलविद्युत आयोजना छन् । ‘सबै आयोजना स्थानीयको अधिकतम लगानीमा निर्माण गरिएका हुन् । कति आयोजना पूरै निजी लगानीमा पनि चलेका छन्, वडा नम्बर ११ का सचिव अर्जुन भण्डारीले भने–केही आयोजनामा स्थानीय आँफैले साठी प्रतिशत बढी लगानी गरेका छन् । केन्द्रिय प्रशारण लाईन नपाएपछि साना लगानीको आयोजना बनाएर गाउँलेले नै अँध्यारोमुक्त गाउँ बनाएका हुन् ।’ घान्द्रुकमा सञ्चालिन अधिकांस लघुजलविद्युत आयोजनामा बागलुङ्ग स्थित सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी) ले प्राविधिक सहयोग गरेको छ । २०४२ सालमा साविक घान्द्रुक गाविसमा ५० किलोवाटको पहिलो फेसको आयोजना बनेको थियो । त्यसपछि अहिलेसम्म बनेकामध्ये सातवटा निजी र बाँकी सबै आयोजनाहरु सामुदायिक छन् ।
घान्दुकमा अहिलेसम्म करिब दुई सय ७५ किलोवाट विद्युत उत्पादन भैसकेको छ । महङ्गो लगानी गर्नुपर्ने भएपछि मत्क्युका केही घरमा विद्युत लगिएको थिएन । यद्यपी हाल स्थानीयकै सक्रियतामा शेयर लगानी गरेरै अँध्यारा घरहरुमा पनि बिजुली बलेका छन् । किम्रुङ खोलामा उत्पादन भएको विजुली लगानीकर्ताको सहमतिमा मत्क्युसम्म पु¥याईएको हो । नयाँ आयोजना निर्माण झनै महङ्गो हुने भएकाले पूरानै आयोजनाबाट बिजुली लगिएको वडाध्यक्ष धन बहादुर गुरुङ बताउँछन् । विद्युत विस्तारका लागि साविक गाविस कार्यालयले तीन लाख रुपैयाँ सघाएको थियो भने प्रति घरपरिवारले एक लाख २० हजार रुपैयाँ लगानी गरेका छन् । धेरै पटक केन्द्रिय प्रशारण पु¥याईदिन आग्रह गरेपनि सुनुवाई नभएको अध्यक्ष गुरुङले बताए ।
‘साना आयोजनाले बत्ती मात्रै बाल्ने हो । भार पर्ने काम गर्न मिल्दैन, उनले भने–केन्द्रिय लाईन भए जनताले आयआर्जनको काम गर्न पाउँछन् ।’ गुरुङका अनुसार घान्द्रुकमा हाल उपल्लो मोदी जलविद्युत आयोजना निर्माणको तयारी भैरहेको छ । ‘४२ मेगावाटको आयोजना अध्ययन सकिएर मुआब्जाको चरणमा पुगेको छ, उनी भन्छन्–स्थानीयको चित्त बुझ्ने गरी मुआब्जा बाँडेर आयोजना निर्माण थाल्छौं । यसले वडाको आन्तरिक आम्दानी पनि बढाउँछ, स्थानीयले प्रशस्त विजुली पनि पाउँछन् ।’ केन्द्रिय प्रशारण लाईन नपुगेपछि स्थानीयले निकै महङ्गो मूल्यमा विद्युत खपत गरिरहेका गुरुङको भनाई छ ।
महङ्गो रकम तिरेरै भएपनि घान्द्रुकका कुनैपनि घर विद्युतबाट बञ्चित छैन । ‘दुवै वडाका सबै घरमा साना जलविद्युत आयोजनाबाट विजुली पु¥याएका छौं । मान्छे बस्ने कुनैपनि घर अँध्यारो छैन, स्थानीय अगुवा जगन गुरुङ भन्छन्–बडो कष्टले बत्ति बालेका छौं । सरकारले घान्दु्रकलाई सौतेनी ब्यवहार गरेको छ ।’ विद्युत आयोजनाहरु पूरानो हुँदै गएकाले मर्मत सम्भारमा समस्या भएको उनले बताए । साविक जिल्ला विकास समिति कास्कीले चार बर्ष अघिदेखि नै घान्द्रुकलाई उज्यालो गाउँ अर्थात लोडसेडिङ मुक्त घोषणा गर्ने जनाएपनि विद्युत विस्तार भर्खरै पूरा भएको छ । बिजुली आएपछि बर्षौंदेखिको सपना पूरा भएको बिद्युत विस्तार समितिकी संयोजक मंगलकुमारी पुनले बताईन् । ‘बिजुली बाल्न प्रशस्त पैसा चाहिन्थ्यो, त्यो हामीसँग थिएन, उनले भनिन्–सबैतिर विजुली बल्दा हाम्लाई खिन्न लाग्थ्यो । त्यसैले ऋणधन गरेरै भएपनि बिजुली ल्यायौं ।’ उज्यालो आएपछि बालबालिकालाई समेत सहज भएको उनले बताईन् ।
घान्द्रुकमा हालसम्म ५० किलोवाट क्षमताको घान्द्रुक साना जलविद्युत आयोजना, ३० किलोवाटको छोम्रोङ्ग १, ११ किलोवाटको छोम्रोङ्ग २, २५ किलोवाटको छोम्रोङ्ग ३, २६ किलोवाटको सिवै, ३५ किलोवाटको चाने, ५÷५ किलोवाटको किम्रुङ्ग र दोभान साना जलविद्युत आयोजना निर्माण भैसकेका छन् । यसैगरी ४ किलोवाट, ३ किलोवाट, २ किलोवाट तथा २०० र ७०० वाटको बम्बु आयोजना, ७ किलोवाटको मेलाँचे, ५ किलोवाटको तिख्यान, २ किलोवाटको माथिल्लो बुर्जुङ्ग, ५ किलोवाटको तल्लो बुर्जुङ्ग, ५÷५ किलोवाटकै हुदु, वनठाँटी र कोम्रोङ्ग र ५०÷५० सामुदायिक घान्द्रुक दोश्रो फेज आयोजना समेत निर्माण भएर सञ्चालनमा आईसकेका छन् । यहाँ ५ किलोवाट क्षमताभन्दा माथिका मात्रै १८ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । पेल्ट्रिक सेटबाट ५ किलोवाटभन्दा कम विजुली उत्पादन हुने थप ४ वटा विद्युत गृह छन् ।