ग्याष्ट्रिकको तनाव छ ? यसरी जोगिनुस्

एजेन्सी, कार्तिक २५ ।
खाद्य नलीले खाएको खानेकुरा पेटमा र्पुयाउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो । एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ ।

तर, त्यही समयमा एसिडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ । तन्तुलाई बचाउन सक्ने क्षमता पनि त्यही छ । कुनै पनि तवरबाट एसिड बढी निस्कियो भने हुन्छ । एसिड सामान्य निस्किए पनि शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ग्याष्ट्रिक हुन्छ ।

कसै कसैको पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ। चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ । कसैलाई पेटको क्यान्सर भयो भने खाना खाएपछि असजिलो हुन्छ । ग्याष्ट्रिकको लक्षण भएको मन्छेलाई क्यान्सर समेत हुने खतरा हुन्छ । खाद्यनलीमा समस्या आयो भने पनि ग्याष्ट्रिक हुन्छ ।

पेटमा भएको क्यान्सर, खाद्यनली क्यान्सरको लक्षणले पनि ग्याष्ट्रिक गराउँछ । ग्याष्ट्रिकको लक्षण भएको मान्छे सजग हुन जरूरी छ । एसिड प्रोडक्सन बढी हुने कारणले पनि ग्याष्ट्रिक हुन्छ । हर्मोनको कारणले पनि ग्याष्ट्रिक हुन्छ । रक्सी खायो भने एसिड बढी निस्किन्छ जसले गर्दा ग्याष्ट्रिक गराउँछ ।

मुटुको रोगीले खाने कतिपय औषधिले पनि ग्याष्ट्रिक गराउँछ । धेरै पिरो खाने, कफी धेरै खाने, कडा–कडा दूध चिया धेरै खाने, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ । चिल्लो बढी खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ । त्यसैले चिल्लो कम खानुपर्छ ।

के खाने ? के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो । सन्तुलित भोजन गर्नुपर्छ । लामो समयसम्म भोकै बस्नु हुँदैन । तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन । मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ ।

ग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो । सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानु हुँदैन । डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन ।

यसको उपचार के हो ?

कतिपय ग्याष्ट्रिक सामान्य हुन्छ। कतिपय ग्याष्ट्रिक बिग्रिएर अल्सर भएको हुन्छ । अल्सर लामो समयसम्म उपचार नगरे रक्तश्राप भइरहन्छ । ग्याष्ट्रिक कुन चरणमा छ त्यसको उपचार पनि त्यसमा भरपर्छ ।

कसैको रक्तश्राप धेरै भइरहेको छ भने आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नुपर्छ। अल्सरका कारण रक्तश्राप भएको छ भने त्यसको उपचार छुट्टै किसिमले गर्नुपर्छ । सामान्य अल्सर छ भने त्यसको उपचार अलग्गै गर्नुपर्छ ।

एसिड प्रोडक्सन कम गर्ने औषधि पनि दिनुपर्छ । सामान्य खालको ग्याष्ट्रिक हो भने एसिड कम गर्ने औषधि केही समय खाएपछि आफैं ठीक हुन्छ ।
डा.अजित खनाल,वरिष्ठ ग्याष्ट्रोलोजिष्ट