गौतम बुद्ध रंगशाला निर्माणका लागि कलश सहकारीको सहयोग

 

भरतपुर, फागुन १७ ।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले रु ७५ हजार प्रदान गरेको छ । निर्माणधिन रंगशालामा पुगेको सहकारीको टोलीले उक्त रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष दुर्गा प्रसाद सुबेदीले रंगशाला निर्माणका सदस्य कुमार कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रकम प्रदान गरिएको बताए । उनले कलाकार सीताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीले थालेको विकासको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । राज्यले गर्नु पर्ने काम कलाकारले अभियानका रुपमा गरेकोमा सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएको उनले बताए । कलाकार कुमार कट्टेलले देश भित्र बनिरहेको रंगशाला नेपालीकै रंगशाला भएको बताए । उनले हरेक जिल्लाबाट स्वतः स्फुर्त सहयोग जुटिरहेकोले उत्साहित भएको बताए ।

सहयोग गरे वापत फाउण्डेशनले सहकारीलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो । सहकारीको टोलीमा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, उपाध्यक्ष विजेन्द्र शर्मा पौडेल, सदस्यहरु एकराज गिरी, रुपक मिश्र, दिपक थापा, युवा परिचालन संयोजक विष्णुबाबु खड्का, कर्जा उपसमिती सदस्य अर्जुन केसी, मधु सुबेदी, सल्लाहकार जगत पौडेल, लेखा समिती सदस्य कृष्ण प्रसाद सबेदी, शेयर सदस्य किरण बानिया, सुरेश शाह ठकुरी, बुद्धीसागर सुबेदी, टिकाराम सुवेदी, विकाश लामिछाने लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रंगशाला निर्माणका सदस्य अर्जुन भुषालले गरेका थिए । सहकारीहरु मध्य पोखराबाट पहिलो सहकारीको सहयोग प्राप्त भएको उनले बताए । यो सहयोगले वित्तिय संस्थालाई पनि सहयागका लागि सन्देश पुग्ने उनले सुनाए ।

कलाकार सीताराम कट्टेल तथा कुञ्जना घिमिरेको अगुवाइमा धुर्मुस फाउण्डेसनले निर्माण गरिरहेको रंगशाला २० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुँदैछ । २५ हजार दर्शक क्षमताको रंगशालामा ४ प्रवेश द्वार रहनेछन् । मुख्य प्रवेश द्वार नेपालको झल्को दिने रहनेछ । निर्माणका लागि अगाडि सारिएको रंगशाला क्रिकेटका अलावा अन्य खेलकुद आयोजना गर्न योग्य रहने फाउन्डेसनले बताएको छ ।

रंगशालासँगै २ छुट्टै अभ्यास मैदानसमेत हुनेछन् । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डन्डीबियो, लन टेनिस लगायतका खेलमैदान रहनेछन् ।