गोरखामा बाम गठबन्धनले गर्यो उम्मेदवारी दर्ता

गोरखा, कार्तिक ५ ।
गोरखामा नेकपा माओबादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गोरखा २ मा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।
गोरखाका माओवादी नेताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन पञ्चेबाजासहित पुगेका थिए । गोरखामा श्रेष्ठसँगै नयाँशक्तिका डा. बाबुराम भट्टराई पनि उम्मेदवार छन् । डा. भट्टराई नेपाली कांग्रेससँग गठवन्धन गरेर उम्मेदवार बनेका हुन् ।
गोरखामा हेभिवेटका श्रेष्ठ र भट्टराई उम्मेदवार बनेकाले पहिलो चरणको निर्वाचनमा सर्वाधिक चासोको क्षेत्र यही बनेको छ । माओवादीले प्रदेशसभा तर्फ गोरखा १ (क) मा लेखबहादुर थापा ‘जीवन्त’, गोरखा २ (क)मा कमला नहर्की ‘सपना’ र (ख) मा अमर तमुलाई उठाएको छ । वाम गठबन्धनअनुसार गोरखा १ (ख)मा एमालेका रामशरण बस्नेत उम्मेदवार बनेका छन् ।