गोरखामा गोरु जुधाई प्रतियोगिता, कसरी जुधाईन्छ गोरु (हेर्नुस् भिडियो)

पोखरा, माघ १ ।
डेढ सयबर्ष अगाडी मनोरञ्जनका लागि हुने गोरु जुधाई पछिल्लो समय प्रतिश्पर्धा र संस्कृतिको रुपमा विकास हुन थालेको छ । अचेल माघे संक्रान्तिको बेला पारेर धेरै ठाउँमा गोरु जुधाउने प्रतियोगिता नै हुन्छ । शिक्षासेवी जयपृथ्वीबहादुर सिंहलाई आफ्नो मावली जाँदा मनोरञ्जन गराउन करीब १ सय ४० वर्ष अगाडि देखि गोरु जुधाउने परम्परा शुरु भएको तारुका गाउँका अगुवाहरु बताउँछन् ।
प्रतियोगितामा भाग लिने गोरुलाई चना, चामल, मास, पीठो, घाँस र परालको खुराक दिइन्छ । लड्दा चोटपटक लागे बीमाको व्यवस्थासमेत गरिएको हुन्छ । गोरुहरुलाई मैदानमा ल्याउने वित्तिकै एक अर्कासंग सिंगौरी खेल्न थालिहाल्छन् । अचेलभरी जितेका गोरुधनीले पुरस्कार पनि पाउन थालेका छन् । अघिल्ला बर्षहरुमा गोरु नै बाजी हालेर जुधाउने चलन भएको गोरखाको घैरुङमा अचेल पुरस्कार स्वरुप नगद पाउँछन् ।
मैदानमा गोरुहरुको सिंगौरी हेर्दै वरपरका कान्ला कान्लामा रहेका मानिसहरुले थपडिका साथ हौसला थप्छन् । तर पशु अधिकारवादीहरुले चाहिँ यस्तो खेलले पशुमाथि क्रुरता प्रोत्साहन गर्ने सक्ने चिन्ता गरेका छन् । थाकेर एउटा गोरु भागेपछि मैदानमा बाँकी रहेकोलाई विजेता घोषित गरिन्छ । घैरुङको माघे संक्रान्ति मेलामा भएको गोरु जुधाई प्रतियोगितामा फुजेलको गोरु विजयी भएको छ । नामजुङ र फुजेलका दुई गोरु बीच प्रतिश्पर्धा गराईएको हो । गोरु जुधाई प्रतिश्पर्धाको रुपमा चल्न थालेपछि माघ १ गतेको दिन घैरुङमा मेला नै लाग्ने गरेको छ ।