गोरखाका ३ सडक कालोपत्रे हुँदै, नामजुङसम्म पीच गर्न ३४ करोड लाग्ने

गोरखा, मंसिर ९ ।
गोरखाका ३ सडक एकैसाथ कालोपत्रे हुने भएको छ । सदरमुकाम बाहिर खासै कालोपत्रे सडक नभएको गोरखाका मुख्य सडकहरु अव कालोपत्रे हुन लागेको हो ।

ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा सम्भावित रणनीतिक सडक अन्तर्गत छेपेटार–चोरकाटे–चित्रेपोखरी सडक कालोपत्रेको काम सोमबारदेखि सुरु भएको छ । तीनवटै सडकको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरे ।

गण्डकी प्रदेश सरकारको लगानीमा यी सडकहरु कालोपत्रे हुन लागेका हुन् । एक निर्वाचन क्षेत्र एक सडक स्तरोन्नती कार्यक्रम अन्तर्गत तीनवटा निर्वाचन क्षेत्रका एक–एक सडक कालोपत्रे र एउटा सडकको ग्राभेल गर्न लागिएको छ ।

ढोडेनीदेखि भच्चेकसम्मको १४ किलोमिटर सडकको यो वर्ष ग्राभेल गरिनेछ भने अरु तीनवटा सडकको कालोपत्रे गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए । ढोडेनी भच्चेक सडक ग्राभेल बिरुवा नाना गोरखा जेभीले गर्नेछ । २०७८ मंसिरसम्म स्तरोन्नती गरिसक्ने गरी यो सडकलाई २० करोड ५६ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

ढुंगागाडे बुंकोट नामजुङ घैरुङ मनकामना सडकखण्ड अन्तर्गत पहिलो चरणमा नामजुङसम्मको १२ किलोमिटर सडक यही वर्षबाट कालोपत्रे शुरु हुनेछ । यसका लागि काठमाण्डौंको लामा कन्स्ट्रक्सनसँग ३३ करोड ९१ लाख १ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । नामजुङसम्मको सडक आगामी २०७८ कात्तिक ५ गतेसम्म कालोपत्रे भैसक्ने छ ।

यस्तै, पालुङटारको राधाकृष्णमन्दिर, कालामाटा, पौवाटार विरुवाटार मिलनचोक हटिया मझुवा सडकको भने स्तरोन्नतीको काम शुरु भैसकेको छ । सोही कार्यक्रम अन्तर्गतको वारपाकबाट लाप्राकसम्मको सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया शुरु भएको छ । प्रदेश सरकारले छेपेटार चोरकाटे चित्रेपोखरी सडक पनि कालोपत्रे गर्न लागेको छ ।

लजमुङको दुधपोखरीसम्मै सडक विस्तार गर्ने उद्देश्य सहित पहिलो चरणमा चोरकाटेबाट थुम्कासम्मको सडक कालोपत्रे गर्ने कार्यक्रम छ । मनासलु मार्ग नाम दिइएको उक्त सडकलाई प्रदेश सरकारले सम्भावित रणनीतिक सडकको सूचीमा राखेको छ ।

सडक कालोपत्रे २०७८ असोज ३१ गतेभित्र सक्ने गरि लामा कन्स्ट्रक्सनसँग नै २१ करोड २९ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सबै सडक ७ मिटर फराकिलो हुनेछ भने साढे ५ मिटर कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले सबै सडक १२ महिना नै सञ्चालन हुने गरी स्तरोन्नती गरिने बताए । उनले तोकिएको समयभित्रै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।