गोरखाका आधाभन्दा बढी मतदानस्थल अति सम्ंबेदनशिल

गोरखा, कार्तिक ८ ।
मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखाको ६८ वटा मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील पहिचान भएको छ । १३३ मतदान स्थल संवेदनशील र १२ मतदान स्थल सामान्य प्रकृतिको रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
आचारसंहिता उल्लंघन हुँदाका चुनौती, निर्वाचन तथा संविधान विरोधी तत्वहरुको चलखेल, विकट भूगोल हुँदा मतपेटिका तथा मतदानका लागि आवश्यक सामग्री ढुवानीमा चुनौती, छिमेकी जिल्ला तनहुँ र चितवनमा दोस्रो चरणमा निर्वाचन हुने हुँदा नाकाबाट अनावश्यक युवाहरु आउने, अवैध हातहतियार नियन्त्रणमा चुनौती, मतदातालाई सन्त्रास फैलाउन सक्ने जस्ता चुनौती रहेको प्रजिअ बस्नेतले बताए ।
सुरक्षा चुनौतीलाई आधार मानेर अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदान स्थल वर्गीकरण गरिएको हो । उमेद्वारहरुलाई आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले आग्रह गरे। हेवीवेट भएका नेताहरु गोरखामा चुनाव लडेकाले झन् सुरक्षा चुनौती बढेको छ । बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र चीनकाजी श्रेष्ठ दुई वटा क्षेत्र रहेको गोरखामा चुनावी मैदानमा छन् ।