गुरुयोजना अनुसार नै गुफाको व्यवस्थित विकास गरौं– प्रदेश सांसदहरु

 

पोखरा, चैत ३ ।

गण्डकी प्रदेश सभाका सदस्यहरुले प्राकुतिक गुफाको रुपमा रहेका महेन्द्र गुफा र चमेरे गुफालाई गुरुयोजना अनुसार नै व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

विन्ध्यवासिनी मा.वि वाटुलेचौरले गुफा क्षेत्रको विकासका सवालमा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने यस क्षेत्रका सांसदहरुसँगको छलफलका क्रममा उनीहरुले दुवै गुफाको विस्तृत गुरुयोजना निर्माण भएकाले पनि पर्यटन विकासमा प्रदेश सरकारको पनि ध्यान जानुपर्ने वताएका हुन् । सांसद एवं सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले गुफा भित्रको आर्कषण वढाउन सकेमा मात्रै पर्यटकको आर्कषण बढ्ने बताए । उनले गुफा पेरिफेरिको विकासका लागि पनि आफुहरु एकमत रहेको भन्दै योजनाको प्रथामिकीकरण गर्न आग्रह गरे । सांसद विन्दुकुमार थापाले विकास निर्माणका काममा राजनिती भन्दा माथि उठ्नुपर्ने भन्दै वडा नम्बर १६ को विकासका लागि योजना तर्जुमा सहित डिपिआर तयार गर्न वडाध्यक्षलाई सुझाव दिए ।

अर्का सांसद प्रभा कोईरालाले महेन्द्र तथा चमेरे गुफाको विकासले यस क्षेत्रको सुन्दरता वढ्ने भन्दै विकासका काममा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । सांसद मीना गुरुङले सवैको सहकार्यबाट नै प्रदेशलाई समृद्घ बनाउन सकिने बताए । वडा नम्वर १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले महानगरकै ठुलो वडा भएर पनि विकासका दृष्टिले पछाडी परेको गुनासो गदै समृद्घ वडा निर्माणका लागि सहयोग गरिदिन आग्रह गरे ।

पुर्व वडाध्यक्ष उदय बहादुर बस्नेतले यस क्षेत्रको विकासका लागि प्रदेश र केन्द्र सरकारको ढोका ढक्ढक्याउन जानुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको छलफलमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले गुफा क्षेत्रको विकासका लागि सवैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने र त्यसका लागि आफुहरु तयार रहेको बताए ।