गुण्डा नाइके मनाङ्गे एमाले प्रवेश

काठमाडौं, असोज १७ ।
चर्चित डन दिपक मनाङ्गे नेकपा एमाले प्रवेश गरेका छन् । राप्रपा मनाङका जिल्ला अध्यक्ष समेत रहेकमा मनाङ्गे ६१ सदस्यीय जिल्ला कार्य समिति सहित एमालेमा प्रवेश गरेका हुन् ।
काठमाडौंको होटल मस्र्याङ्दीमा आयोजित एक कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष पाल्देन गुरुङले मनाङ्गे सहित राप्रपा जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई एमालेमा स्वागत गरेका छन् । आगामी असोज २८ गते जिल्लामा आमसभा आयोजना गरेर एमालेका ठूला नेताको हातबाट टिका लगाउने कार्यक्रम रहेको मनाङ्गेले बताए ।
२०७० सालको संविधानसभा चुनावमा मनाङमा कांग्रेसले जित्दा राप्रपा दोस्रो थियो । यसपटकका स्थानीय चुनावमा कांग्रेस र एमालेले बराबरी दुई÷दुई स्थानीय तह जितेका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जित सुनिश्चित गर्न एमालेले मनाङ्गे सहित राप्रपाको सिंगो कार्य समितिलाई पार्टीमा बिलय गराएको जिल्ला अध्यक्ष पाल्देन गुरुङले बताए ।