गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधार आवश्यक :  प्रमुख जि.सी

 

पोखरा, कार्तिक ३० ।

विगत २६ वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पार्दि स्थित फिष्टेल एकेडेमिले शुक्रबार अन्तराष्ट्रिय मापदण्डको नवनिर्मित विद्यालय भवनको शिलान्यास गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले उक्त विद्यालयको भवनको शिलान्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रमुख जि.सीले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता रहेको बताए । प्रतिष्पर्धाको समयमा गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनु पर्ने भन्दै उनले शिक्षामा निजी क्षेत्रको लगानी राम्रो भएकोले यसलाई नतिजामुखी बनाउनपर्ने बताए । सरकारको तीन खम्बे नीतिमा निजी क्षेत्र पनि रहेकाले नीजि क्षेत्रले शिक्षामा गरेको लगानीलाई परिणाममुखी बनाउनु पर्नेमा उनको भनाइ थियो । समृद्ध नेपाल निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जनता र बालबालिकाहरुलाई सबैभन्दा पहिले शिक्षाको पहुँच भित्र ल्याउने सरकारको प्राथमिकता रहेको उनले बताए ।

एकेडेमीका संस्थापक एवं निर्देशक चिनु रानाभाटले जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा बिताएकाले यस क्षेत्रलाई अझ अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन बनाउन लागेको जानकारी दिइन् । १८ रोपनी क्षेत्रफलमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय भवनहरु, ल्याब, जुनीयर सिनियर विद्यार्थीकालागि छुट्टाछुट्टै खेलकुद मैदान, अण्डर ग्राउण्ड पार्किङ, बहुउद्देश्यीय डिजिटल हल, अभिभावक शिक्षक मिटिङ हलसहित अन्तराष्ट्रिय मापदण्डको विद्यालय बनाइने उनले बताइन् । अत्याधुनिक भवनमा पानिको फोहोरा सहितको हरियाली बगैँचाले विद्यालयलाई थप मनमोहक बनाउने रानाभाटले जानकारी दिइन् ।

माछापुच्छ्रे हिमालको काखमा निर्मित अन्तराष्ट्रिय मापदण्ड सहितको विद्यालयको भौतिक संरचनाले विद्यार्थी र अभिभावकलाई फरक अनुभव र गर्व गर्ने वातावरण विद्यालयले प्रदान विद्यालयका प्राचार्य बुद्धि मोहन पौडेलले बताए । हाल म्यानेजमेन्ट संकायमा मात्रै पढाई हुँदै आएको विद्यालयमा भवन निर्माणसँगै विज्ञान संकाय र अन्य प्राविधिक विषयको समेत अध्यापन गराइने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

हाल विद्यालयमा ७६ जनशक्ति रहेको छ भने ११ सय विद्यार्थीहरुले अध्ययन गरिहेका छन् । राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ, सरस्वती गुरुङ जस्ता खेलाडी र मुस्कान रानाभाट जस्ता गायीका समेत उत्पादन गर्न सफल स्कुलले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सक्रिय सहभागिता गराउँदै आएको छ ।

कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व्देखि स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्व एवं अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा १० कि सदिक्षा आर्चाय र शिक्षक भरत खड्काले विद्यालयको बारेमा आफ्नो धारणा राखेका थिए ।